हिमालयखवर संवाददाता-
वासिंगटन डिसी। नेपाल अमेरिकाबीच यही जुन दोस्रो साता व्यापार तथा लगानी सम्वन्धि बैठक वासिङटनमा बैठक हुने भएको छ।
बाणिज्यमन्त्री स्तरीय उक्त वार्तामा दुई देश बीच व्यापार तथा लगानी विस्तारका लागि वृहद छलफल हुनेछ। यसका लागि नेपालबाट वाणिज्यमन्त्री जयन्त चन्दको नेतृत्वमा वाणिज्य, उद्योग सचिव लगायतको प्रतिनिधिमण्डल अमेरिका आउने तय भएको छ। अमेरिकाबाट भने यहाँका मन्त्री सहरले प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्।
सन् २०११ मा नेपाल र अमेरिकाबीच व्यापार तथा लगानी फ्रेमवर्क सम्झौता भएको थियो। यो सम्झौता अनुसार हरेक बर्ष आलोपालो गरी दुई देशबीच बैठक गर्नुपर्ने थियो। तर, नेपालको राजनीतिक अस्थिरताले समयमा वैठक हुन सकेको थिएन।
यो सम्झौता अनुसार नेपालले अमेरिकी बजारवाट फाइदा लिन सकेको छैन। नेपालसँग अमेरिकी बजारमा प्रतिस्पर्धायोग्य वस्तु अभावले पनि यो सम्झौतावाट नेपालले फाइदा लिन नसकेको हो।
यस पटकको वैठकमा अमेरिकाले हालै झण्डै ६० प्रकारका नेपाली तयारी पोशाकलाई भन्सार छुट दिएको विषयमा छलफल हुने छ। नेपालले यो सूचि अपर्याप्त भएको हुँदा थपका लागि आग्रह गर्ने वासिङटन दुतावास स्रोतले जनाएको छ।
नेपाली उत्पादनलाई कसरी अमेरिका बजारमा प्रतिस्पर्धी वनाउन सकिन्छ यसमा अमेरिकी सहयोगका वारेमा पनि छलफल हुने स्रोतले जनाएको छ। अमेरिकी लगानीकर्ताका समस्याका वारेमा पनि छलफल हुने जनाईएको छ।
अमेरिकाले यस क्षेत्रमा नेपाललाई सहयोग गर्ने चासो देखाएको छ। बैठककै क्रममा नेपालले छुट पाएका वस्तुले अमेरिकाको हितलाई कुनै असर पर्दैन भन्ने विषयमा अमेरिकाको संसदीय समितिलाई प्रमाणसहित प्रस्तुत गर्ने कार्यक्रम पनि छ।
विश्वकै सवैभन्दा ठुलो उपभोक्ता बजार भएपनि दुई देशबीच व्यापार न्यून छ। सन् २०१५ मा नेपालले झण्डै साढे ८ अर्ब रुपैंया बरावरका वस्तु अमेरिका निकासी गरेको थियो। तयारी पोशाक, हस्तकलाका सामानहरु नेपालबाट अमेरिका आउने मुख्य वस्तुहरु हुन्। यसमा विशेषगरि सिसापाइप, ऊनी गलैंचा अमेरिका आउने मुख्य वस्तु हुन्। अमेरिकावाट भने झण्डै साढे तीन अर्व रुपैंया वरावरको समान नेपालले किनेको थियो।
प्रतिक्रिया