मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जङ्गली च्याउ खाँदा आठ जनाको मृत्यु

जङ्गली च्याउ खाँदा आठ जनाको मृत्यु


पाँचथर । जङ्गलबाट टिपेर ल्याएको जङ्गली च्याउ खाँदा बुधबारराति पाँचथरमा थप एक जनाको मृत्यु भएको छ । योसहित जिल्लामा विषालु च्याउ खाई मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।
 
मृत्यु हुनेमा फिदिम–३ जैसीडाँडा बस्ने १४ वर्षीय निसेस राई रहेका छन् । उनले गत जेठ १८ गते बेलुका जङ्गली च्याउ खाएका थिए ।
 
जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा लैजाँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । गत जेठ १० गतेदेखि हाल सम्ममा आठ जनाको मृत्यु भइसकेको छ भने नौ जना अझै बिरामी भएका छन् ।
 
यसअघि मृत्यु हुनेमा आङना–१ बस्ने वीरेन्द्र माङलाककी छोरी पाँच वर्षीया सोनिका, १३ वर्षीया कविता माङलाक, श्रीमती पदम माया, सोही ठाउँकै मनकुमारी माङलाकको मृत्यु भइसकेको छ ।
 
यसैगरी, मृत्यु भएकामा थर्पु–६ बस्ने धनबहादुर मावोकी छोरी ११ वर्षीया एलिजा मावो रहेकी छन् । च्याउ खाएर बिरामी हुनेमा याङनाम–२ बस्ने टीकाराम मगर, राजेश मगर र गणेश मगर रहेका छन् । 
 
थर्पु–६ बस्ने पाँच वर्षीय प्रशान्त माबो र आठ वर्षीया सुरजना माबो रहेका छन् भने कुरुम्बा–४ बस्ने देवीकुमार लावती, कल्पना लावती, राजेन्द्र लावती, दीपेश लावती र दिनेश लावती बिरामी भएका थिए । 
 
च्याउ खाएर बिरामी हुनेको धरानको घोपा, झापाको आम्दा र विराटनगरको नोवेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । रासस