मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बजेट कार्यान्वयनमा चुनौती : निजी क्षेत्र

बजेट कार्यान्वयनमा चुनौती : निजी क्षेत्र


चितवन । चितवनका उद्योगी व्यवसायीहरुले सरकारले प्रस्तुत गरेको बजेटबारे धारणा सार्वजनिक गर्दै कार्यान्वयनमा भने चुनौती देखेका छन् । 
 
आव ०७३/७४ को वार्षिक बजेटबारे प्रतिक्रिया माग्दा अधिकांश व्यवसायीहरुले समग्रमा राम्रो आएको बताएका छन् । यसका बाबजुद उनीहरुले चितवनका निजी क्षेत्र र जनताले चाहेजस्तो कार्यक्रम बजेटमा नआएको गुनासोसमेत गरेका छन् । बजेटले धेरै कुरा सम्बोधन गरे पनि औद्योगिक कोरिडोर र पर्यटन क्षेत्रलाई सम्बोधन गर्न नसकेको उनीहरुको भनाइ छ । 
 
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले चितवनको कृषि क्षेत्र र पोल्ट्री क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नु उपलब्धिपूर्ण भएको बताए । पूजीँगत खर्च सोचेजस्तो नहुँदा विकास निर्माण प्रभावित भएको अवस्थामा यस बजेटबाट भने आफूले पूजीँगत खर्च बढ्ने गरी काम हुने आशा लिएको बताए । 
 
बजेटको कार्यान्वयन नै मुख्य चुनौतीको विषय भएको बताउँदै अध्यक्ष गौतमले भने, ‘बजेट आफँैमा लोकिप्रय छ, तर कार्यान्वयन गर्न सक्नुपर्छ । यसमा जटिलता छ ।’
 
उनले सरकारले गरेको निजामती कर्मचारीको तलब वृद्धिले मौलाउँदो भ्रष्टाचार भने निवारण हुँदै जाने आशासमेत व्यक्त गरे । आफूहरुले चितवनलाई औधोगिक क्षेत्रको रुपमा विकास गर्नुपर्ने माग अन्तिम समयसम्म पनि सरोकारवाला निकायसमक्ष राखेको तर त्यसको सुनुवाइ नभएकोमा उनले दुखेसो व्यक्त गरे । 
 
उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठले सरकारले उर्जामा गरेको लगानी निकै प्रशंसनीय रहेको बताए । उर्जामा हुने लगानीबाट कमजोर उद्योगहरु फस्टाउनुका साथै रोजगारी पनि वृद्धि हुने भन्दै उनले बजेट समग्रमा राम्रो रहेको प्रतिक्रिया दिए । 
 
भरतपुरलाई सहकारी सहर बनाउने, किसान आयोग गठन गर्ने, बुढी गण्डकी जलविद्युत् र पञ्चेश्वर आयोजनालाई अघि बढाउने कुरा निकै प्रशंसनीय रहेको उनले बताए । साथै उनले कर प्रणाली वैज्ञानिकीकरण गर्ने सरकारको योजनाको पनि स्वागत गरे । 
 
उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष गुणराज श्रेष्ठले बजेटले धेरै पक्षलाई समेटेको बताए । किसानलाई दिने सेवासुविधाका कुरा आफूलाई मन परेको उनले प्रतिक्रिया दिए । उनले शैक्षिक प्रमाणपत्र लिएर सरकारले दिने ऋण कार्यक्रमले अझै राम्रो भएको बताए । 
 
सरकारले जलविद्युत्, सडक, सरसफाइजस्ता पूर्वाधार विकासमा लिएको लक्ष्य राम्रो रहेको अध्यक्ष श्रेष्ठले बताए । 
 
चितवन उद्योग संघका अध्यक्ष भीमबहादुर पाण्डेले औद्योगिक एक्सपो सेन्टर स्थापनका लागि सरकारले बजेट मार्फत सम्बोधन गरेको भन्दै खुसी व्यक्त गरे । बजेटबारे संक्षिप्त प्रतिक्रिया दिँदै एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरका डा प्रमोद लामिछानेले ‘एक गाउँमा, एक डाक्टर’ विषयले आफ्नो मन छोएको बताए । 
 
यसबाट ग्रामीण भेगमा स्वास्थ्य सेवा लिन जनता सफल हुने उनले बताए । ‘एक प्रदेशः एक मेडिकल कलेज’ अवधारणा कार्यान्वयन गरिने र स्वास्थ्य स्वयंसेविकाको पोसाक खर्चमा एक हजार ५०० ले वृद्धि गरिने विषय प्रशंसनीय भएको बताए ।