मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दक्षिणपन्थी हावाले बादललाई उडायो : अध्यक्ष वैद्य

दक्षिणपन्थी हावाले बादललाई उडायो : अध्यक्ष वैद्य


चितवन । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य किरणले दक्षिणपन्थी, विस्तारवादी र साम्राज्यवादीहरुको षडयन्त्रका कारण पार्टी फुटेको बताएका छन् । कम्युनिष्टहरुले परिवर्तन विरोधीलाई दक्षिणपन्थी, भारतलाई विस्तारवादी र अमेरिकालाई साम्राज्यवादी भन्ने गर्छन् । 
 
भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा वैद्यले सो शक्तिले क्रान्तिकारीहरुलाई सिध्याउने रणनीति बनाएको आरोप लगाए ।
 
‘दक्षिणपन्थी हावाहुरी चल्दा कमजोर केही साथीहरुलाई उडायो’ वैद्यले भने । पार्टीबाट हालैमात्र रामबहादुर थापालगायतका नेताहरु अलग भएर पुष्पकमल दाहाल नेतृत्वको माओवादीसँग एकीकरण गरेका छन् । दाहाल नेतृत्वको पार्टीसँग एकता गर्ने नीति पार्टीको रहे पनि वार्ता र छलफल गरेर पार्टीको सिद्धान्त परिवर्तन भएमा मात्रै एकीकरण गर्ने निर्णय आफूहरुको रहेको वैद्यले बताए ।
 
‘हाम्रो दृष्टिकोणमा दाहालजीको नेतृत्वमा रहेको पार्टी नवसंशोधनवादी हो । त्यसले क्रान्ति गर्दैन । उहाँहरुले नौलो जनवादी क्रान्ति सम्पन्न भयो भन्नुहुन्छ हामी बाँकी छौं भन्दै आएका छौं । वार्ता र छलफलले उहाँहरुको दृष्टिकोण बदल्न सकेमा मात्रै एकीकरण गर्ने भनेको हो । त्यसै होइन’ वैद्यले भने । दाहालको पार्टीले क्रान्ति सम्पन्न भयो भन्ने तर क्रान्ति गरेका कार्यकर्ता जेल पर्ने अवस्था आउन लागेको उनले बताए ।
 
‘जनयुद्धकालका मुद्दा अदालतमा छन् । पार्टीका कयौं कार्यकर्ता जेलसम्म जाने अवस्था आउँदै छ । तर प्रचण्ड अर्थात् पुष्पकमल दाहालजी क्रान्ति सम्पन्न भयो भन्दै हिँड्नु हुन्छ । क्रान्ति सम्पन्न भए यस्तो हुन्थ्यो ? क्रान्ति सम्पन्न भए कमल थापाजस्तो पूर्वपञ्चसँग सरकारमा सँगै बस्नु पर्दथ्यो’ उनले भने । उनले माओवादीले १० वर्षसम्म चलाएको सशस्त्र संघर्ष असफल भएकाले यो अवस्था आएको बताए ।
 
देशभर क्रान्ति चाहने कार्यकर्ता र सर्वसाधरण धेरै नै रहेकाले सबैलाई गोलबद्ध गरेर आफ्नो पार्टीले अब हुने क्रान्तिको नेतृत्व गर्ने उनले बताए । ‘क्रान्ति पूरा गर्ने एक मात्र शक्ति हामी नै हो । हामी संगठन विस्तारमा लाग्ने छौँ । आफै बलियो भएर अगाडि बढ्ने छौं’ वैद्यले भने । उनले पुष्पकमल दाहलसँग फुटेर पार्टी गठन गरेपछि पहिलो पटक फुटेका नेत्रविक्रम चन्द विप्लप नेतृत्वको माओवादीसँग पनि तत्काल एकता नहुने बताए ।
 
‘दक्षिणपन्थी हावाहुरी अचाक्ली चलेपछि चन्दजीहरुसँग मिलेर संयुक्त विज्ञप्ति निकालेको हो । उहाँहरुसँग छलफल र संयुक्त कार्यक्रम गर्दै जाउँला तर तत्काल पार्टी एकता गर्ने हाम्रो योजना छैन । अब हामी आफ्नो संगठनलाई नै बलियो बनाउँछौं’ वैद्यले भने । असार ५ मा पार्टीको राष्ट्रिय भेला राखेको र सो भेलाले संगठन निर्माणको योजना अगाडि बढाउने उनले जानकारी दिए ।