मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गणतन्त्र दिवसमा चितवनका ११ कैदीलाई कैद माफी

गणतन्त्र दिवसमा चितवनका ११ कैदीलाई कैद माफी


चितवन । राष्ट्रिय गणतन्त्र दिवसको अवसरमा भरतपुर कारागारबाट ११ जना कैदीलाई बाँकी रहेको कैद माफी मिनाहा गरी रिहा गरिएको छ । जसमा २ महिला र ९ परुषको कैद मिनाहा भएको भरतपुर कारागारका नासु रामबाबु श्रेष्ठले जानकारी दिए ।
 
कैद मिनाहा पाउनेमा कर्तव्य ज्यान मुद्दाका मात्र ६ जना रहेका छन् । जसमा सबैभन्दा बढी चितवनकी सरस्वती तिमिल्सिनाको १२ वर्ष ३ दिन कैद मिनाहा भएको छ । उनले ८ वर्ष ५ महिना २७ दिन कैद भुक्तान गरिसकेकी छन् । ताम्लेजुङ ठेगाना भएका आकाश भनिने हर्कबहादुर सार्कीको ११ वर्ष ११ महिना १२ दिन कैद छुट भएको छ । कर्तव्य ज्यानको मुद्दा लागेका उनले ८ वर्ष १८ दिन कैद भुक्तान गरिसकेका छन् । 
 
नुवाकोटका पूर्णबहादुर सुनारको ११ वर्ष ३ महिना १३ दिन कैद माफी भएको छ । उनले ८ वर्ष १८ महिना १७ दिन कैद सजाय भोगेका छन् । कर्तव्य ज्यानकै मुद्दामा कारावासको सजाय भोगिरहेका भारतका महमद मुकिमको ११ वर्ष २ महिना २९ दिन कैद मिनाहा भएको हो ।
 
त्यस्तै कर्तव्य ज्यान मुद्दामा १० वर्ष ३ महिना २८ दिन कैद भुक्तानी गरिसकेका कल्पना शाहीको बाँकी ९ वर्ष ८ महिना २ दिन कैद मिनाहा भएको छ । यस्तै ४ वर्ष ८ महिना १२ दिन सजाय भोगिसकेका चितवन घरका राजन सापकोटाको बाँकी ५ वर्ष ३ महिना १८ दिन कैद मिनाहा भएको श्रेष्ठले बताए । 
 
त्यस्तै कारागारबाट ज्यान मार्ने उद्योगको मुद्दाका २ जना, सवारी ज्यान मुद्दाका २ जना तथा नकवजनी चोरी मुद्दा लागेका एक जनाको कैद मिनाहा भएको छ । 
ज्यान मार्ने उद्योगको मुद्दाका कुल ५ वर्षको कारागार सजाय भोगिरहेका चितवन निवासी झलबहादुर विकको २ वर्ष १ महिना २ दिन र सुनिल महतोको २ वर्ष ९ महिना ६ दिन कैद मिनाहा भएको हो । सवारी ज्यान मुद्दाका चितवनका विष्णुहरि सेढाईंको १ महिना २१ दिन तथा शिशिर अधिकारीको ८ महिना १८ दिन कैद मिनाहा भएको उनले बताए । नकवजनी चोरी मुद्दा लागेका पर्वत स्थायी घर भएका हापु भनिने राज सेन्चुरी सुनारको १० महिना १४ दिन कैद मिनाहा भएको नासु श्रेष्ठले बताएका छन् ।
गणतन्त्र दिवसको दिनमा कैद माफ पाएका देशका ८ सय ६४ कैदीमध्ये चितवनका ११ कैदीले कैद माफी पाएका हुन् ।