टोकियो । जापानबाट कोरियाका लागि उड्ने तयारी गरिरहेको एक विमानको इन्जिनमा आगो लागेपछि त्यसमा रहेका चालक दलका सदस्य र सबै जना यात्रुको उद्वार गरिएको छ । जापानको हानेदा विमानस्थलमा सो विमानबाट १७ जना उड्डयन सदस्यसहित ३०० जनाको उद्धार गरिएको हो ।
हानेदा विमानस्थलबाट कोरियाका लागि उड्ने तयरी गरिरहेको सो विमानको एउटा इन्जिनमा आगो लागेको थियो । त्यसपछि उक्त विमानबाट यात्रुको तत्कालै उद्धार गरी बाहिर निकालिएको थियो । बोइङ ७७७ विमानको एउटा इन्जिनमा आगो लागेका कारण त्यसमा रहेका यात्रुको उद्धार गरी बाहिर निकालिएका दृश्यहरु जापानी टेलिभिजनहरुले देखाएका थिए ।
सो विमान दक्षिण कोरियाको जिम्पो अन्तर्राष्ट्रिय विमानस्थलका लागि उड्ने तयारीमा थियो । कोरियन एयरका प्रवक्ताले भनेका छन्– विमानको इन्जिन नम्बर १ मा आगो लागेको देखिएपछि आकस्मिक सेवामार्फत उद्धार गरिएको छ ।
जापानको यातायात मन्त्रालयले पनि शुक्रबारै एक विज्ञप्तिमार्फत उड्ने तयारीमा रहेको विमानमा आगो देखिएको जनाएको छ । विमानले सबै तयारी सकेर उड्ने तरखर गरिरहँदा अकस्मात आगोको मुस्लो देखिएको र त्यसपछि लगत्तै आपतकालीन सेवामार्फत विमानबाट यात्रुलाई बाहिर झिक्ने काम भएको समाचारमा जनाइएको छ ।
उद्धारका सकुशल रुपमा भएको र यसबाट कुनै पनि यात्रु घाइते नभएको जापानी टेलिभिजन एनएचकेले जनाएको छ । एएफपी
प्रतिक्रिया