मस्को । युक्रेनमा पुनः देखिएको राजनीतिक समस्याको समाधानका लागि रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले पहल सुरु गर्नुभएको छ ।
उहाँले मङ्गलबार यसै विषयमा युक्रेनी राष्ट्रपति, फ्रान्सेली राष्ट्रपति र जर्मन चान्सलरसँग फोनवार्ता गर्नुभएको मस्कोबाट प्राप्त समाचारमा जनाइएको छ । मस्कोले जनाएअनुसार सो विषयमा रसियाली राष्ट्रपतिले सो वार्ता थाल्नुभएको हो । उहाँले मङ्गलबार बिहान सबैजना नेतासँग फोनमा कुराकानी गर्नुभएको बताइएको छ ।
उहाँले फ्रान्सेली राष्ट्रपति फासाँ अल्याण्ड, जर्मन चान्सलर एङ्गिला मार्केल र युक्रेनियन राष्ट्रपति पेट्रो पोरोसेन्कोसँग फोनवार्ता गरी युक्रेनमा पुनः सुरु भएको यस समस्याको राजनीतिक समाधान निकालिनुपर्नेमा जोड दिनुभएको समाचारमा जनाइएको थियो ।
त्यस वार्ताका क्रममा पुटिनले युक्रेनमा पुनः समस्या सुरु भएकोले यसको राजनीतिक समाधान खोज्नुपर्ने र युक्रेनको पूर्वी क्षेत्रको सेनाले युद्धविराम गर्नुपर्ने प्रस्ताव युक्रेनियन राष्ट्रपतिसमक्ष गर्नुभएको मस्कोले जनाएको छ ।
उहाँले यस विषयमा युक्रेन र त्यस देशको पूर्वी भूभागका विद्रोहीबीचमा आगामी दिनमा प्रत्यक्ष वार्ता हुनुपर्ने भन्दै यसका लागि युक्रेनी सरकारले अग्रसरता लिनुपर्ने बताउनुभएको थियो ।
सन् २०१५ मा सम्पन्न भएको मिन्स्क सम्झौताको कार्यान्वयन र यसका लागि त्यस सम्झौतामा सम्लग्न भएका पक्षहरुबीच प्रत्यक्ष वार्ता हुनुपर्नेमा पनि उहाँले जोड दिनुभएको बताइएको छ । युक्रेनमा विद्रोही र सरकारबीच गएको करिब २५ महिनादेखि जारी रहेको युद्धविरामको अन्त्य भएको समाचार हालैमात्र सार्वजनिक गरिएको थियो ।
रसियाली समर्थक युक्रेनी विद्रोहीले देशको पूर्वी भू–भागलाई यसअघिको क्रिमियाजस्तै रसियासँग मिलाउन पाउनुपर्ने मागसहित विद्रोह गरेका छन् । उक्त मागका कारण दुई वर्षअघिदेखि युक्रेनमा हिंसा भड्किएको हो । सो हिंसापछि सरकार र युक्रेनी विद्रोहीबीच वार्ताको प्रयास भएको हो ।
उक्त वार्ता प्रयास असफल हुन पुगेको छ । त्यसका लागि दुई वर्षभन्दा लामो समयदेखि युद्धविराम गरिएको थियो । तर सो युद्धविरामको पनि अन्त्य भएको छ । गतहप्ता बर्लिनमा बसेको शान्तिवार्ता समितिको बैठकले नै वार्ताको औचित्य समाप्त भएको बताएको थियो । त्यसयता वार्ता भङ्ग भएको समाचारमा जनाइएको छ ।
रसियाली भाषीहरूको बाहुल्यता रहेको भनिएको पूर्वी भू–भागमा पछिल्लो समयमा विद्रोह हिंसात्मक हुने गरेको छ । यसमा कैयौं व्यक्ति मारिएका छन् । सन् २०१४ को अप्रिल महिनादेखि सुरु भएको सो हिंसामा परी कम्तीमा पनि नौ हजार ३०० मानिसको ज्यान गएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
साथै सो हिंसाका कारण २१ हजारभन्दा बढी व्यक्ति घाइते भएका छन् । तथा देशको पूर्वी क्षेत्रबाट लाखौँ नागरिक विस्थापित पनि भएका समाचारमा जनाइएको छ ।
युक्रेनको क्रिमिया क्षेत्रले जनमत सङ्ग्रह गरी रसियामा गाभिने निर्णय गरेपछि त्यसको सिको देशको पूर्वी क्षेत्रमा पनि भएको बताइन्छ । उक्त आन्दोलनलाई रसियाले सहयोग गरेको भनाई युक्रेनको छ । तर पनि रसियाले भने त्यसमा आफ्नो देशको हात नरहेको बताउदै आएको छ । रासस÷एएफपी
प्रतिक्रिया