मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

देहरादुनमा पहिरो जाँदा १० नेपालीको निधन

देहरादुनमा पहिरो जाँदा १० नेपालीको निधन


देहरादुन, भारत । देहरादुनको भित्री पहाडी बस्तीमा आइतबार राति आएको हावाहुरीबाट जोगिन ओडारमा बास बस्न पुगेका नेपाली कामदारमध्ये १० जनाको ओडारै ढाक्ने गरी आएको पहिरोले थिच्दा घटनास्थलमै मृत्यु भएको छ ।
 
देहरादुनस्थित नेपाली समाजका प्रतिनिधि सूर्यविक्रम शाहीका अनुसार बाँके कोहलपुरका दीपक मगर, उनकी श्रीमती कुमारीदेवी, छोरीद्वय सरजना र तारा तथा छोरा भरतबहादुरसहित परिवारका सबैको मृत्यु भएको छ । सन्तोषकै दिदी विनिता विक, उनका २२ वर्षीय छोरा जीवन र ८ वर्षीय छोरा बबिन्द्रसमेतको ज्यान गएको छ । यस्तै रुकुम (मुसिकोट)का धनबहादुर र धनकुमारीसमेतको मृत्यु भएको हो ।
 
देहरादुनबाट झन्डै ५० किलोमिटर टाढा ट्युनी चात्रास्थित भित्री बस्तीमा आइतबार राति ११ बजे गएको उक्त पहिरोमा परी उद्धार गरिएका घाइतेमध्ये ४ जनाको दुन अस्पतालमा उपचार भइरहेको छ भने सामान्य घाइते ३ जना उपचारपछि फर्केका छन् । पुरिएकामध्ये जीवितै रहेकालाई उद्धार गरी अस्पताल पु्र्‍याइएको थियो ।
 
‘हामी राति खानपिन गरेर सुत्ने तरखरमा थियौं, सडक छेउको झुप्रा कटेराहरू भत्काउने गरी हुरी चल्न थाल्यो । रूखहरूसमेत लड्न थालेपछि नजिकैको पहरामुनि ओत लाग्न गएका थियौं, एकाएक पहिरोले थिच्यो,’ पहिरोमा परे पनि बच्न सफल जाजरकोटका २८ वर्षीय सन्तोष विकले कान्तिपुरसँग फोनमा भने, ‘त्यो हूलमा हामी १७ जना नेपाली थियौं ।
 
त्यसमध्ये १० जनाको ठाउँको ठाउँमै ज्यान गयो ।’ आइतबार रातिको यो घटनाबारे दिल्लीस्थित नेपाली दूतावास सोमबार साँझसम्म पनि बेखबर छ ।
 
कार्यवाहक राजदूत कृष्णप्रसाद ढकालले देहरादुनमा भएको दुस्खद घटनाको आधिकारिक विवरण सोमबार कार्यालय समयसम्म नआएको बताए । ‘हामी बुझबुझारथमा लागेका छौं,’ उनले भने । समाचार कान्तिपुरमा छापिएको छ ।