मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भटाभट बिचौलिया पक्राउ गर्दै प्रहरी

भटाभट बिचौलिया पक्राउ गर्दै प्रहरी


चितवन । जिल्ला प्रहरी कार्यालयले विगत एक सातायता २५ जना बिचौलियालाई नियन्त्रणमा लिई कारबाही गरेको छ । 
 
पछिल्लो पटक सोमबार मालपोत कार्यालय भरतपुरबाट एक जनालाई नियन्त्रणमा लिएको छ । सोमबार पक्राउ पर्नेमा भरतपुर उपमहानगरपालिका–११ बस्ने ३३ वर्षीय रघुनाथ पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 
 
छिटो छरितो रुपमा काम गरिदिने भन्दै पटकपटक अनावश्यक रुपमा पैसा माग गरेको भन्दै सर्वसाधारणले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । 
 
श्रेष्ठका अनुसार पौडेलले राप्ती नगरपालिका–१२ बस्ने वर्ष ३३ का हीराबहादुर श्रेष्ठसँग पहिलो पटक रु दुई हजार ५०० र दोस्रो पटक कर्मचारीलाई दिनुपर्छ भन्दै रु एक हजार ५०० माग गरेको र श्रेष्ठले भनेअनुसार पैसा नदिए पछि विभिन्न धाकधम्की दिइरहेको समयमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
 
पक्राउ परेका पौडेल विगत लामो समयदेखि मालपोत कार्यालयमा लेखापढी व्यवसाय गर्दै आएका थिए । उनलाई सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही गरिने कार्यालयले जनाएको छ ।
 
प्रहरीले यसअघि बिचौलिया कार्यमा संलग्न रहेको आरोपमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबाट पाँच जना कर्मचारीसहित २० जना र नारायणगढको पुलचोक बस स्टेसनबाट चार जनालाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइरहेको छ । रासस