मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनको विकट स्यामराङ गाउँमा खानेपानीको महासंकट

चितवनको विकट स्यामराङ गाउँमा खानेपानीको महासंकट


चितवन । चितवनलाई आगामी वर्ष अर्थात् सन् २०१७ मा पूर्ण सरसफाइयुक्त जिल्ला घोषणा गर्ने तरखर जोडतोडले हुँदैछ । घर–घरमा खानेपानी सहजै उपलब्ध हुनु पूर्ण सरसफाइको आधारभूत तत्व हो । तर लोथरको एउटा विकट स्यामराङ गाउँ खानेपानीको महासंकटमा छ । पुरै गाउँ पालो कुरेर सानो धारोमा पानी भर्न बाध्य छन् ।
 
स्यामराङ गाउँमा अल्पसंख्यक सिमान्तकृत आदिवासी समुदाय चेपाङको मात्रै बसोबास छ । चितवनको पहाडी गाविस लोथरको वडा नं ७ मा पर्छ यो गाउँ । सदरमुकाम भरतपुरदेखि उत्तरमा रहेको यो गाउँ पुग्न सजिलो छैन । थोरै राजमार्गको यात्रा र त्यसपछि उकालो, ओरालो र घुमाउरो कच्ची बाटोको लगभग तीन घण्टा यात्रा गरेपछि पनि पैदल हिँडनेलाई जब्बर उकालो बाँकी रहन्छ । जुन उकालो उक्लन हिँड्न सक्नेलाई पनि दुई घण्टा लाग्छ ।
 
लामो र थकानपूर्ण यात्रापछि गाउँ पुग्दा कडा तिर्खा लाग्नु स्वभाविकै हो । तर गाउँमा खोज्ने बित्तिकै पिउने पानी नपाइन सक्छ । स्यामराङवासी पिउने पानीको समस्याले पीडित छन् । गाउँदेखि एक घण्टा पर रहेको सानो मुहानमा पानी भर्न गाउँलेको बिहान, दिउँसो, साँझ र उस्तै परे रातमा पनि लाइन लाग्ने गर्छ । पालो कुरेर पानी भर्छन् गाउँलेहरु । पालो चाँडै आओस् भनेर झिसमिसेमै कुवामा पुग्छन् महिला, पुरुष र केटाकेटीहरु ।
 
जेठ १ गते शनिबार बिहान सवा छ बजे गाउँदेखि पर रहेको कुवामा पुग्दा छजना भेटिए । झम्क चेपाङ, विनोद चेपाङ, सुवासी चेपाङ र ज्ञानीमाया चेपाङ पालो पर्खदै थिए । मनमाया चेपाङ पानी भर्दै थिइन् । सुन्तली चेपाङ पानी भरेर घर फर्कने तरखरमा थिइन् । ‘पाँचै बजे आएको हो अझै तीनजनापछि बल्ल मेरो पालो आउने भयो’ झम्क चेपाङले भने ।
 
सानो कालो पाइपबाट थोरै पानी झरेको थियो । गाउँलेले एउटा गाग्री भर्न २० मिनेट लगाउँथे । ‘अनि यति सानो पानीमा पालो कुरेर गाग्री भर्दा बिहानै बित्छ । कहिले काँही चार घण्टा यही बित्छ’ सुवासी चेपाङले भनिन् । वडा नं। ७ को स्यामराङ र लगदम गाउँका ८७ घरधुरीले यही पानी खाने गरेका छन् । त्यो सानो धारोभन्दा एक घण्टा पर सानो खोला पनि छ । खोलाको पानी झनै थोरै र धमिलो छ ।
 
‘यहाँ कुर्दा कुर्दै दिन बित्ने गर्छ । साह्रै अबेला भयो भने कोही कोही त्यो खोलामा गएर पनि पिउने पानी ल्याउँछन्’ स्यामराङका बुद्धिलाल चेपाङले भने । वर्षौदेखि स्यामराङवासीको दिन यसरी चल्दै आएको छ । वर्षापछिका महिना पानी अलि ठूलो आउने भएकाले केही राहत हुन्छ । कात्तिक लागेपछि पानीका लागि कष्ट सुरु हुन्छ ।
 
विसं २०५१ सालमा खानेपानी योजना सञ्चालन गरेर गाउँमा पाँचवटा धारा राखे पनि सफल नभएको स्थानीय प्राथमिक विद्यालयका प्रधानाध्यापक अतिबल चेपाङले बताए । ‘यहाँदेखि १४ किलो मिटर पर राम्रो मुहान छ । तर त्यही टाढा गएर न पानी भर्न सकिन्छ, न खानोपानी योजना सञ्चालन गर्न सक्ने बजेट छ । त्यसैले हामी पानीका लागि सास्ती बेहोर्न बाध्य छौँ’ प्रधानाध्यापक अतिबलले भने ।