"हाइ गाइज , वाना सि विउटीफुल सेक्सी गर्ल ? यू क्यान एन्ज्वाइ लेमोजिन राइड अल्सो" – आइफिल टावर छेउको लासभेगस बोलीभर्डको सडक पेटीमा हामीलाई रोक्दै भन्यो उसले । रातको १२ बजे नाघेको त्योबेला मानिसहरु आआफ्नो प्रकारले लासभेगसको आनन्द लिनमा व्यस्त थिए ।
हामीले त्यो गोरो मानिसको हातबाट नाइट क्लबको ब्रोसर लिंदै भन्यौं – थ्यान्क्यु , वि विल थिन्क सम अदर टाइम । अमेरिका बस्नेले एकपटक लासभेगसको रमाइलो नहेरे यहाँ बस्नुको कुनै अर्थ हुदैन , साथीहरु भन्ने गर्थे । आफूलाई पनि कौतुहल थियो कस्तो होला छुटाउनु नहुने यो शहर ! कतै पढेको थिएँ क्यासिनो र सुन्दरीहरुको राजधानी लासभेगस हतियार र लागू औषधिका डनहरुले बसाएको शहर हो । अमेरिकि राज्य नेभेदाको दक्षिणमा बसेको यो शहर १९०५ मा अस्तित्वमा आउन शुरु गर्दा बन्जर मरुभुमि मात्र थियो । त्यस अघि चाडै बिहे हुने अनि चाँडो डिभोर्स हुने शहरकोरुपमा लासभेगस मानिदो रहेछ ।
१९३१ मा हुभर ड्यामको निर्माण शुरु भएपछि त्यहाँ काम गर्ने कामदारहरुलाई आकर्षण गर्न क्यासिनो र नाइट क्लबहरु खुलेछन् । सन् १९४० देखि हतियार र लागू औषधिका व्यापारबाट आर्जन गरेको अथाह सम्पति लासभेगसमा खनिन थालेछ । त्यसपछि यो शहरले कहिल्यै पछाडि फर्कनु परेन ।
राम लामा र राखी गौचनको आत्मीय सौजन्यमा हामी दम्पत्ति लस लसएन्जलसबाट नेजा अधिवेसन सकेर लासभेगस लागेका थियौं । चार घन्टाको त्यो सडक यात्रा आफैंमा रमाइलो र उत्सुकतापूर्ण थियो । उजाड मरूभूमि छिचोल्दै बनाइएको चिप्लो कालोपत्रे सडकमा हामी चारजना चढेको गाडी उच्च रफ्तारमा हुँइकिदै गर्दा हामीलाई अझै हतारो हुन्थ्यो चाँडै भेगस पुग्न । जति नजिक पुग्थ्यौं हाम्रो उत्सुकता झन बढ्थ्यो । राम र राखीकोलागि नयाँ थिएन तर हामी दुईकोनिम्ति नितान्त रोमान्चित हुने समय थियो ।
जिवनमा पहिलो पल्ट पैसा र यौवनले मात्तिएको लासभेगसको दर्शन हुंदै थियो । मरुभुमिलाई , पौरखी दिमाग र हातहरुले कुंदेर बनाएको संसार प्रसिध्द बैंशालु शहरमा हामी पुग्दै थियौं । जति नजिक पुग्थ्यौं हाम्रो उत्सुकता झन बढ्थ्यो । रामको सुरक्षित ,भरपर्दो ड्राइभिङको आनन्द लिंदै राती आठ बजे हामी भेगस पुग्दा शहर साँच्चिकै नयाँ दुलही झैं सिंगारिएको थियो । मानिसहरु आआफ्नै मस्तिमा रमाइ रहेका , वेपर्वाह ! हामी बस्ने होटलमा पस्ने वित्तिकै लाग्यो- कुनै विशाल जूवाको मेला लागेको छ । जता आँखा लगायो जूवाका खालहरु , क्यासिनै क्यासिनो । अर्धनग्न तरुनीहरु क्यासिनोलाई बैंशालु बनाउने होडबाजिमा थिए । जूवाडेहरु डलर लुटाउने र जित्ने दाउमा मग्न देखिन्थे , उनिहरुलाई अरु कसैको मतलव थिएन ।
भोक निक्कै लागेको थियो । खाना खाने अनि शहर हेर्ने योजना बोकेर हामी होटलबाट बाहिरियौं । हामीलाई गाईडको आवश्यकता थिएन , राम भाई हाम्रोलागि काफि थिए । पेट पुजा सकेर हाम्रो शहर हेर्ने अभियान शुरु भयो । शहर उन्मादमा थियो , मानिसहरु आनन्दमा थिए । कसैको अनुहार मलिन थिएन , सबै उन्मादी रहरमा दुरुस्त देखिन्थे । फ्रान्सको सिको गरेर बनाइएको आइफिल टावरको टूप्पोमा पुगेर लासभेगस नियाल्दा रातीको ११ नाघेको थियो । त्यो टूप्पोमा नपुगेको भए भेगसको सुन्दरता हेर्नबाट हामी बंचित हुनेरैछौ । मलाई लाग्यो – मानिसले चाह्यो भने गर्न नसक्ने के रैछ र ! बन्जर मरुभुमिलाई यति सुन्दर , यति विकशित शहर बनाउन सकिंदो रैछ ।
टावरबाट ओर्लेर हामी निक्कैबेर घुमिरह्यौं । सुरा , सुन्दरी र जूवाको आनन्द लिनेहरु बाहेक शहरको सुन्दरतालाई क्यामेरामा उतार्नेहरु पनि कम थिएनन् । शायद त्यसैले होला यो उन्मादी शहरलाई वर्षेनी ५० मिलियन टुरिष्टले आफ्नो गन्तव्य बनाउंदा रहेछन् । केहीबेर राम र राखी क्यासिनोमा भुलिए । हामी भने उनिहरुले डलर चढाएको हेरीबस्यौं । हामी दुबैलाई क्यासिनोले आकर्षण गर्न नसकेको हो वा हामीले नै त्यस्को आनन्द लिन नजानेको हो ! अहिलेसम्म आंफै रनभुल्ल छु ।
रात निक्कै छिप्पिएछ , थकाई र निद्राले हामीलाई – अब भयो , आराम गर भन्ने आदेश दिन थाल्यो । तर त्यो आदेशको अवज्ञा गर्दै कोठामा गीत र कविताको महफिल जम्यो । त्यो रमाइलोमा समय बितेको पत्तै भएन, बिहानको तीनबजे छ । हामीलाई भोलीपल्ट चारबजे लसएन्जलस एअरपोर्ट पुग्नु थियो , ह्यूस्टनको फ्लाइट समात्न ।
बिहान हतार हतार उठेर लबीमा पुग्दा हिजो रातीको रौनक थिएन । दुईचारजना जूवाडे बाहेक क्यासिनो शुनशान थियो । अर्धनग्न तरुनीहरु देखिएन , शायद रातभरीको थकाई मार्दै मस्त निद्रामा होलान् । बाहिर सडकमा पनि रातीजस्तो उन्माद थिएन । हामी लाग्यौं लसएन्जलसतिर । मैले त्यतिबेला मित्र बसन्त श्रेष्ट्र्को कविता सम्झे । उनको लासभेगस अनुभव कवितामा यस्तो थियो –
रात बिहा घर सजाएर झकमक्क सिंगारिएको शहर देखें
बैंश उम्लिएर सडकभरी पोखिएको मान्छे भेटें
पैसा र यौवनको मादकता छचल्किएर मुस्कुराएको जीवन
बिहान जीवन निख्रेर चेहरा मुर्झाएको आँखा आँखामा पढें ।
ग्याङ्गस्टार वग्से साइगलले आफ्नो कल्पनालाई लासभेगसमा परिणत गरिदिएर हामीजस्ता मानिसलाई रोमान्चित हुने अवसर जुराइदिए । मनमनै वग्सेलाई धन्यवाद दिएँ , भेगसलाई वाइ वाइ गरें । अब फेरि भेट हुने हो हैन के थाहा।
ईमेल: [email protected]
प्रतिक्रिया