काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक सहमतिबिना स्थानीय निकायको निर्वाचन हुन नसक्ने बताउनुभएको छ । दक्ष जनशक्ति विकास केन्द्रले आज बागबजारमा आयोजना गरेको दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेता सिंहले सरकारलाई राजनीतिक सहमतिको वातावरण बनाउन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो – “सरकार भाषण गर्नुभन्दा राजनीतिक सहमति जुटाउन लाग्नुपर्छ तब मात्र सबै निर्वाचन गर्न सम्भव हुन्छ ।”
पूर्व स्थानीय विकासमन्त्रीसमेत रहनुभएका नेता सिंहले स्थानीय, प्रान्तीय र केन्द्रीय निर्वाचनका लागि आवश्यक कानुन निर्माण गरी चुनावको कार्यतालिका बनाएर अगाडि बढ्नुपर्छ भन्नेमा काँग्रेसको जोड रहेको स्पष्ट पार्नुभयो ।
उहाँले मधेसी दलहरू आन्दोलनमा गएकाले झन जटिलतातर्फ मुलुक गएको भन्दै वार्ताको वातावरण बनाउन सरकारलाई आग्रह गर्नुभयो । रासस
प्रतिक्रिया