काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारको विरुद्धमा आफ्नो भातृ संस्था नेपाल विद्यार्थी संघलाई सडकमा उतारेको छ ।
काँग्रेसले कालोबजारी नियन्त्रण गर्न कुनै पहल नगरेको भन्दै नेविसंघलाई सरकारविरुद्ध सडकमा उतारेको हो । नेविसंघले बिहीवार काठमाडौमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै प्रदर्शनसमेत गरेको छ । जनताको जीविकासँग सम्बन्धित विषयलाई बेवास्ता गरी उखान टुक्का भन्न र हावादारी भाषण गर्नमा केन्द्रित भएको भन्दै नेविसंघले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेको हो ।
नेविसंघले सरकारको विरोधमा कालो झण्डासहित शंख बजाएर प्रदर्शन गरेको छ । नेविसंघले प्रदशनीमार्गस्थित बाल्मिकी क्याम्पसबाट भद्रकाली, सहिदगेट हुँदै शान्ति वाटिकासम्म प्रदर्शन गरेको थियो ।
नेविसंघका नेताहरुले प्रधानमन्त्री ओली गैरजिम्मेवार रुपमा प्रस्तुत हुन थालकाले प्रदर्शन गरेको भन्दै सरकारविरुद्ध आन्दोलनका थप कार्यक्रम ल्याउने बताएका छन् ।
सरकारविरुद्धको प्रदर्शनमा नेविसंघले सरकारी नियम र आफ्नो प्रतिबद्धताविपरीत स्कुले विद्यार्थीहरुलाई प्रयोग गरेको छ । नेविसंघले स्कुले विद्यार्थीहरुलाई कालो झण्डासहित नाराबाजी गर्न लगाएको छ ।
प्रतिक्रिया