पर्सा । हावाहुरीले ढलाएको रूखले च्यापेर पर्साको निर्मलबस्तीमा मङ्गलबार एक महिलाको मृत्यु भएको छ । एक्कासि आएको हवाहुरीले रूख ढल्दा अन्य तीन जनासमेत घाइते भएका छन् ।
पर्सा वन्यजन्तु आरक्षको जङ्गलमा हावाहुरीले ढालेको रूखले च्यापेर पर्साको निर्मलबस्ती–५ की ३० वर्षीया शान्तमाया श्रेष्ठको मृत्यु भएको हो । घाइते भएकी शान्तमायालाई उपचारका लागि सदरमुकाम वीरगन्ज ल्याउने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए ।
रूखले च्यपिएर निर्मलवस्ती–५ कै ३५ वर्षीया दूधमाया श्रेष्ठ, ४० वर्षीय फुटुङ श्रेष्ठ र १६ वर्षीया मनिला श्रेष्ठ घाइते भएका छन् ।
उनीहरूको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको छ । गाउँ नजिकै रहेको आरक्षको जङ्गलमा बाख्रा चराउन गएका चारैजनालाई साँझ ५ बजेतिर वर्षासँगै तीव्र गतिमा आएको हावाहुरीका कारण ढलेको सालको रूखले च्यापेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए । रासस
प्रतिक्रिया