नवलपरासी । नवलपरासीको दुम्कीबासमा ज्यानमात्र भेटिएको शवको मंगलबार टाउको पनि भेटिएको छ ।
गत वैशाख २४ गते बीभत्स हत्या गरिएर फालिएको अवस्थामा ज्यानमात्र भएको शव भेटिएको थियो । घटनाको अनुसन्धान गर्दै जाँदा प्रहरीले मृतकको टाउको दुम्कीबास जंगलमा फेला पारेको हो ।
फेला परेको टाउको नवलपरासी देउराली–६ झ्यालबास निवासी भारतीयमुलका २१ वर्षीय वृजमोहन गुप्ताको रहेको पुष्टि भएको छ । मृतकको टाउको नभेटिएका कारण शव कसको हो भनेर प्रहरीले किटानी गर्न सकेको थिएन । तर, ज्यानमात्र फेला परेको शव जगमोहनप्रसाद गुप्ताले आफ्नै दाइको भएको दाबी गरेका थिए ।
ज्यानमात्र भएको शव भेटिएको ठाउँमा मृतकको पोशाक, मोबाइलको सिमलगायतको आधारमा शव आफ्नो दाईको भएको उनले दाबी गरेका थिए । मृतकका भाई जगमोहनप्रसाद गुप्ताले आर्थिक विषयमा विवाद हुँदा दाईको हत्या भएको दाबी गरेका छन् ।
दुम्किबासमा बस्दै आएका गुप्ता बसेकै कोठा पछाडि उनको ज्यानमात्रको शव भेटिएको हो । प्रहरी स्रोतका अनुसार गुप्तालाई उनका पाटर्नर र उनका सहयोगीले घाँटी थिचेर हत्या गरी टाउको काटेर ज्यानमात्रको शव बस्दै आएको कोठा पछाडि र टाउको रातको समयमा दुम्बिासदेखि पूर्वको जंगलमा लगेर फालेका थिए ।
मृतकको शव पोष्टमार्टम गरेको र थप परीक्षणका लागि डीएनए गर्न पठाइएको प्रहरीले जनाएको छ । शव गलिसकेको अवस्थामा भेटिएको कारण शव पोष्टमार्टम गरेर गाडिएको प्रहरीले जनाएको छ ।
वैशाख १७ गतेसम्म परिवारको फोन सम्पर्कमा रहेका गुप्ता १८ गतेदेखि परिवारको सम्पर्कमा थिएनन् । कवाडी संकलन गर्ने उनकै साथी सुरेन्द्र शाहलाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । शाहसहित हत्यामा सम्लग्न रहेका अर्का एकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक राजेश थापाले टाउको बरामद गरेको बताए पनि घटनाको अनुसन्धान भइरहेको र विस्तृत अध्ययन गरिरहेकोले घटनाको बारेमा विस्तृत जानकारी दिन नमिल्ने बताए । १७ गते साँझ २५ हजार रूपैयाँको विषयमा विवाद भएपछि घटना भएको बताइएको छ ।
इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी, सिभिल प्रहरी र इलाका प्रहरी कार्यालय दुम्किबासका प्रहरीले संयुक्त रुपमा घटनाको अनुसन्धान गरेका थिए ।
प्रतिक्रिया