नयाँ दिल्ली । भारतमा गत बिहीबार र शुक्रबार भएको दुई जना पत्रकारको हत्याराको खोजी व्यापक मात्रामा भएको बताइएको छ । झारखण्डका वरिष्ठ प्रहरी अधिकारी उपेन्द्र प्रसादले पत्रकारका हत्याराको खोजीका लागि विशेष प्रहरी परिचालन गरिएको बताए ।
उनले भने, पत्रकारका हत्याराको खोजी जारी छ केही शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । भारतीय पत्रिका इन्डियन एक्सप्रेसले पत्रकारका हत्यारा पत्ता लगाएर कडाभन्दा कडा कारबाही गरिनुपर्ने भनी समाचार लेखेको छ ।
पूर्वीभारतको बिहार र झारखण्डमा बिहीबार र शुक्रबार दुई जना पत्रकारको हत्या भएको छ । बिहार र झारखण्डमा बिहीबार राति र शुक्रबार राति गरी दुई जना पत्रकारको हत्या भएको हो ।
हिन्दी भाषाको पत्रिका हिन्दुस्तान दैनिकका स्थानीय ब्युरो प्रमुख राजदेव रञ्जनलाई शुक्रबार राति मोटर साइकलमा आफ्नो घरतर्फ जाँदै गर्दा अज्ञात व्यक्तिले बिहारमा गोली हानी उनको हत्या गरेका थिए ।
त्यस्तै मारिने अर्का पत्रकार अखिलेस प्रताप सिंह हुन् । उनी टेलिभिजन पत्रकार हुन् । उनलाई बिहीबार मोटरसाइकलमा आफ्नो घरतर्फ जानेक्रममा नै अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका थिए ।
उनको हत्या झारखण्डमा भएको थियो । पत्रकार सिंह झारखण्डकै स्थानीय पत्रकार हुन् । पत्रकारमाथि भारतमा पछिल्लो समयमा असुरक्षा बढेको भन्दै पत्रकारहरुले कडा कारबाहीको माग गरेका छन् ।
उनीहरुले यस विषयमा सरकारको जवाफ पनि मागेका छन् । सोही कारण पनि प्रहरीले हत्याराको खोजी कडा रुपमा गरिएको बताएका छन् । विश्वका पत्रकारिताको हक हितका लागि लड्ने संघ संस्थाहरुले पनि भारतमा पत्रकारहरु धेरै मारिने गरेकोमा चासो व्यक्त गरेका छन् ।
भारतजस्तो प्रजातान्त्रिक देशमा समाचार लेखेकैका कारणले पत्रकारको ज्यान जानु ठूलो बिडम्बना हो उनीहरुले भनेका छन् ।
भारतका आइतबारका सञ्चारमाध्यमहरुले पत्रकारको सुरक्षाका लागि सरकारसँग माग गरेका छन् । उनीहरुले हत्या भएका पत्रकारका हत्यारालाई खोजी कडा कारबाहीका लागि सरकारको ध्यानाकर्षण पनि गराएका छन् । रासस / एएफपी
प्रतिक्रिया