मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सिद्धान्त र भाषणले मात्र आर्थिक रुपान्तरण असम्भव : पूर्वअर्थमन्त्री पाण्डे

सिद्धान्त र भाषणले मात्र आर्थिक रुपान्तरण असम्भव : पूर्वअर्थमन्त्री पाण्डे


चितवन । पूर्वअर्थमन्त्री तथा चितवन क्षेत्र नम्बर १ का सांसद सुरेन्द्र पाण्डेले नेपालको आर्थिक रुपान्तरणको लागि राजनीतिक दलहरुमा भाषण र सिद्धान्तभन्दा पनि व्यवहारमुखी योजना आवश्यक रहेको बताएका छन् । 
 
नेपाल प्रगतिशील प्राध्यापक संगठन चितवनले ‘जनताको बहुदलीय जनवादको वर्तमान सान्दर्भिकता’ विषयक अन्तरक्रिया कार्यक्रममा प्राध्यापकद्वय कपिल सुवेदी र पुण्यप्रसाद आचार्यले प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गर्दे सांसद पाण्डेले सो विचार राखेका हुन् । 
 
नेपालको राजनीतिक इतिहास र आन्दोलनबारे लामो अनुसन्धान गरेर नै जननेता मदन भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ लाई मार्गदर्शक सिद्धान्तको रुपमा प्रतिपादन गरेकोले उनले यसलाई समयअनुसार कार्यान्वयन गर्दे लैजानुपर्ने बताए । 
 
देशमा उत्पादनमुखी क्षेत्रको पहिचान गरेर युवा पलायनलाई रोकेर देशको आयलाई २० वर्षमा चार गुणा वृद्धि नगरे अबको राजनीति निकै कठिन भएको बताए । ‘अब पुराना भाषण र सिद्धान्तले मात्र देशको रुपान्तरण हुदैन’, पूर्वअर्थमन्त्री पाण्डेले भने,‘ सिद्धान्तमात्र बोकेर हिडेर आर्थिक आम्दानीको बाटो पहिल्याउन नसके एमाले कमजोर बन्छ ।’ 
 
कार्यक्रममा बहुदलीय जनवादको वर्तमान सान्दर्भिकतबाारे कार्यपत्र प्रस्तुत गर्दे प्राध्यापक सुवेदीले देश ठूलो राजनीतिक र समाजिक संकटमा गुज्रिरहेकोले अहिलेको लोकतन्त्र नक्कली र देखावटी रहेको बताए । 
 
‘कालोबजारी, सिन्डिकेट, कुशासनले एमालेको बहुदलीय जनवादको नै अपव्याख्या भइरहेको छ’, उनले भने,‘ जनताले सरकार होइन सुशासन खोजिरहेका छन् ।’ अहिले देशमा संक्रमणकाल लम्ब्याउने र राजनीतिक अस्थिरता लम्ब्याउने कार्य भएकोले दलका सिद्धान्तले मात्र देशको रुपान्तरण सम्भव नभएको बताए । 
 
एमालेको बहुदलीय जनवादलाई सहीरुपमा लागू गर्ने हो भने देशको आर्थिक रुपान्तरणलाई एमालेले मुख्य प्राथमिकता दिनुपर्नै उनको कार्यपत्रमा उल्लेख गरिएको थियो । त्यस्तै अर्का प्राध्यापक आचार्यले अहिले विश्वका विभिन्न कम्युनिस्ट पार्टीहरु मदन भण्डारीले देखाएको बाटोमा आएकोले पनि उनको सिद्धान्तको सान्दर्भिकता बढेको बताए । 
 
कार्यक्रममा शिक्षाविद् रमाकान्त सापकोटाले देशमा जनवादको कुरा उठिरहे पनि गरिव र धनीबीचको दूरी बढेको बताए । ‘अहिले नेपालमा श्रमको मूल्यनै छैन, वर्षभरी पढाउने प्राध्यापकले वर्षको चार लाख कमाउँछ तर एउटा दलालीले दिनकै चार लाख कमाउँछ’ उनले भने, ‘देशमा युवाहरु बस्न सक्ने र पर्कन सक्ने वातावरण बनाउन श्रमको सम्मान हुनुपर्छ ।’ 
 
देशमा जातीय, क्षेत्रीय संगठनहरु फस्टाएर बहुदलीय जनवादलाई कमजोर बनाएको सापकोटाको विश्लेषण थियो । त्यसैगरी कार्यक्रममा अर्का प्राध्यापक रामकुमार तिवारीले बहुदलीय जनवाद कुनै स्वस्थानीको कथाजस्तो कर्मकाण्डी नभएको बताए । 
 
‘जबजको नाममा हुने गलत मनोवृत्तिबाट एमालेलाई जोगाउन आवश्यक छ’ उनले भने,‘देशमा आर्थिक क्रान्ति भएमात्र जबजको सान्दर्भिकता रहन्छ ।’ 
 
संगठनका अध्यक्ष धर्मराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा एमाले जिल्ला अध्यक्ष जगन्नाथ थपलियाले बुद्धिजीवी वर्गले सरकारको सधै नकारात्मक टिप्पणीमात्र गर्ने भन्दा पनि सकारात्मक टिप्पणी पनि गर्न सक्नुपर्ने बताए ।