मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनमा सवारी दुर्घटनामा ६२ को मृत्यु

चितवनमा सवारी दुर्घटनामा ६२ को मृत्यु


चितवन । चितवनमा हरेक हप्ता एक जना मानिसको सवारी दुर्घटनामा मृत्यु हुने गरेकोे छ । जिल्ला ट्राफिक कार्यालय चितवनको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७२/७३ को वैशाख मसान्तसम्ममा सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६२ रहेको छ । जिल्लामा हरेक महिना ६ जना र हरेक हप्ता कम्तीमा पनि १ जनाको मृत्यु हुने गरेको हो । जसमध्ये ४५ जना पुरुष, ११ जना महिला र ७ जना बालबालिका रहेका छन् । 
 
वैशाख महिनासम्म भएका १२३ वटा दुर्घटनाहरुमा ९२ जना गम्भीर तथा ११० जना सामान्य घाइते भएको तथ्याङ्क छ । अघिल्लो आर्थिक वर्षमा भएका १२६ वटा सवारी दुर्घटनामा ८२ जनाको मृत्यु हुनुको साथै सामान्य तथा गम्भीर गरी २५७ जना घाइते भएका थिए ।
 
ट्राफिक प्रहरीले अघिल्लो आर्थिक वर्षमा राजस्व स्वरुप २ करोड ४९ लाख ९१ हजार ३ सय उठाएको थियो भने यो वर्ष १० महिनामा २ करोड ३४ लाख २४ हजार २ सय उठाएको छ । यसबाट ट्राफिक प्रहरीले आफ्नो गतिविधि बढाएको देखिन्छ ।
 
सवारी दुर्घटनालाई न्यूनीकरण गर्नको लागि आफूहरुले सवारी नियमको कडाइका साथ कार्यान्वयन गर्न सवारी चालक तथा सडक प्रयोग कर्ताहरुलाई आग्रह गरेको ट्राफिक प्रहरी प्रमुख राजन भेटवालले बताए । ट्राफिक व्यवस्था चुस्त दुरुस्त राख्न ट्राफिक प्रहरीहरु लागि परेका छन् । 
 
ट्राफिक प्रहरीको अभियानलाई सर्वसाधारणहरुले पनि सकारात्मक रुपमा लिएका छन् । सडक दुर्घटना न्यूनीकरण गर्न तथा सवारी आवगमन सहज बनाउन ट्राफिक प्रहरी लागिपरेको उनले बताए । 
 
‘ट्राफिक प्रहरी कार्यालयबाट मापसे चेकजाँच अभियान तदारुकताका साथ अघि बढाएको छ’ ट्राफिक प्रमुख भेटवालले भने, ‘मापसे चेकजाँचका क्रममा पहिले दिनहँु ५÷७ जना पर्ने गरेका छन् । यस पनि सवारी दुर्घटनामा केही कमी ल्याएको छ ।’
 
ट्राफिक कार्यालयले मापसेमा परेका सवारी चालकहरुलाई सवारी चालक अनुमति पत्रमा प्वाल पार्ने, जरिबाना तिराउनेलगायतका कारबाही मात्र गरेको छैन, तर प्रशिक्षण कक्षाहरु पनि दिएको छ । यो अभियानबाट मापसे गरी सवारी चलाउने चालकहरु घटेको हुँदा जसका कारण सडक दुर्घटना कमी भएको ट्राफिक प्रमुख भेटवाल बताउँछन् ।
 
त्यस्तै, ट्राफिक प्रहरी कार्यालयबाट सवारी दुर्घटनाको क्षतिलाई न्यूनीकरण गर्न सुरक्षित हेलमेटको अभियान पनि चलाएको छ । ट्राफिक नियमको पालनाको बारेमा वृहत रुपमा सचेतना फैलाउनको लागि जिल्ला ट्राफिक कार्यालयले रेडक्रसको समन्वयमा ट्राफिक सप्ताहसमेत सञ्चालन गरेको उनले बताए । ट्राफिक सप्ताहको माध्यमबाट ट्राफिक नियमबारे सचेता फैलाउन आफूहरु सफल भएको उनको भनाइ छ । 
 
ट्राफिक सप्ताह सफल भएको बताउँदै भेटवालले भने, ‘ट्राफिक सप्ताहमा रेडक्रस, स्काउट, विभिन्न महिला तथा आमा समूहहरु, विद्यार्थी तथा आम सर्वसाधारणहरुले सहयोग गरेकाले सफल भएको छ । यसबाट प्रत्येक घरमा ट्राफिक भएको महसुस भएको छ र आगामी दिनमा सबैले ट्राफिक नियमको पालना गरी दुर्घटना न्यूनीकरण हुन्छ भन्ने आशा लिएका छौँ ।’
 
ट्राफिक सप्ताह समापन
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनको समन्वयमा ट्राफिक प्रहरी कार्यालय चितवनले वैशाख २६ गतेदेखि सञ्चालन गरेको ट्राफिक सप्ताह २०७३ को शनिबार समापन गरिएको छ । समापन कार्यक्रममा मध्यक्षत्रीय प्रहरी कार्यलयका प्रहरी महानिरीक्षक पशुपति उपाध्यायले ट्राफिक अभियान एक हप्ताको लागि मात्र नभई हरेक दिन सञ्चालन हुनुपर्ने बताए । 
 
ट्राफिक नियमको बारेमा सबैले सबैलाई सचेतना फैलाउन आवश्यक रहेको उनले बताए । ट्राफिक नियम सबैले पालना गर्नुपर्ने अनुशासन भएको बताउँदै महानिरीक्षक उपाध्यायले अनुशासन नै विकासको आधार भएकाले नियम कानुन पालना गरेमा विकासले पनि गति लिने बताए ।
 
इन्द्र बहादुर केसीले विद्यालयको पाठ्य पुस्तकमा सडक सुरक्षासम्वन्धी विषय वस्तुको सुरुवात् गरिनुपर्ने र विद्यार्थीलाई ट्राफिक नियमसम्बन्धी पाठ पढाइनुपर्ने बताए ।