हिमालय खबरको सल्लाहकार सम्पादकको गहन जिम्मेवारी मेरो निम्ति अवसर र चुनौती दुवै हो । पत्रकारिता प्रारम्भ गर्दाको अवस्थादेखि आजसम्म मैले यो पेशालाई आदर्श मात्र होइन एउटा अविचलित आस्थाकोरुपमा मानेको छु । म कुनै बेला सक्रिय भईन तर मैले आफूलाई पत्रकार नै ठाने । अमेरिकी जीवनको व्यस्तता भित्र अरु नै जिम्मेवारी निभाउँदै जीवन यापन गर्दा समेत मैले आफूलाई गैर पत्रकार सम्झिन । शायद यो मेरो आत्मरति हुनसक्ला ।
हिमालय खबरलाई मैले शुरुदेखि नै हेर्दै आएको छु । अनलाइन न्यूज पोर्टलले आफ्ना पाठक श्रोताकालागि जुन दायित्व निर्वाह गर्नुपर्ने हो त्यसमा यसले आफूलाई कमजोर देखाएको छैन । समुदायलाई सूचना सम्प्रेषण गर्ने , मानवीय रुचिका सामाग्री पस्कने र विविध खाले विचार , समाचार र मनोरञ्जनात्मक विषयलाई हिमालय खबरले यथोचित स्थान दिएकै छ । तथापि सुधारका संभावना जहिल्यै पनि रहन्छ । र त्यस्तो सुधारकोलागि हाम्रो प्रयास निरन्तर रहने छ ।
हामी अमेरिकी समाजको एउटा अङ्ग भएका छौं । यो समाजबाट अलग्गिएर हाम्रै नेपाली सामुदायकै मात्र बखान गर्ने र मुलधारलाई वेवास्ता गर्ने हो भने सधैं पछाडि हुन्छौ हामी । अझै हामीले खोजेको पत्रकारिताले यहाँको परिवेश , राजनीति , अर्थनीतिदेखि विधि विधान , अवसर र हाम्रो समुदायका सफलताका कथाहरु र अप्ठ्याराहरुसंग तादात्म्य राख्दै सूचना प्रवाहमा सक्रिय हुनुपर्दछ । हाम्रो प्रयास मातृभूमी र कर्मभूमीको सेतु बन्नु पर्दछ । यही उद्देश्यबाट अभिप्रेरित भएर नै मैले यो जिम्मेवारी स्वीकार गरेको हुँ ।
हामी चाँडै नै एउटा भरपर्दो " प्रोफेसनल टिम " का साथ पाठकहरू समक्ष नयाँ उपहार लिएर आउने प्रयासमा छौं । सल्लाहकार सम्पादकको रुपमा मलाई शुभकामना र बधाई दिनुहुने सबैप्रति हार्दिक आभारी छु । हिमालय खबर परिवारले मप्रति देखाएको विश्वासलाई उच्च मूल्यांकन गरेको छु । निष्ठा र इमान्दारीपूर्वक कर्म गर्दै जानु पर्दछ , सफलता टाढा हुदैन भन्ने मेरो मान्यता हो ।
मलाई पूर्ण विश्वास छ – हाम्रा पाठक , श्रोता , शुभेच्छुक र सहयोगी मनहरुको सल्लाह , सदाशयता र सहयोग हिमालय खबरलाई सदैव प्राप्त हुनेछ । यसले हामीलाई हाम्रो समुदायप्रति , समाजप्रति अरु बढी जिम्मेवार हुन उत्प्रेरित गर्नेछ ।






प्रतिक्रिया