चितवन । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अहिलेको समयमा स्थानीय निकायको निर्वाचन सम्भव नरहेको बताएका छन् । पछिल्लो समय राजनैतिक दलहरुबीच देखिएको असमझदारी र अविश्वासका कारण निर्वाचन सम्भव नरहेको उनको विश्लेषण थियो ।
नेपाली काँग्रेस दारेचोक गाविसले शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा नेता सिटौलाले राजनैतिक दलहरुमा अविश्वास बढ्दै जाँदा मुलुक चक्रव्यूहमा फसिसकेको भन्दै उनले अहिलेको सरकारले यसलाई माथि उठाउन नसक्ने र निर्वाचन पनि गराउन नसक्ने बताए ।
सो अवसरमा नेकपा एमाले, एकीकृत नेकपा माओवादीलगायतका दलहरु पार्टी परित्याग गरी दुई सयजना काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जानकारी दिए ।
नेपाली काँग्रेस दारेचोक गाविसका सभापति कृतिकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, उपसभापति कौलाश कोइराला, क्षेत्रीय सभापति रमेश अधिकारी, महाधिवेशन प्रतिनिधि सुवोध प्रधान, विपिन रामुदामुलगायतले बोलेका थिए ।
प्रतिक्रिया