काठमाडौँ । राष्ट्राध्यक्षदेखि सरकारी कर्मचारीसम्मले सरकारी खर्चमा हवाई माध्यमबाट गर्ने भ्रमणमा नेपाल वायुसेवा निगमको जहाज प्रयोगलाई अनिवार्य गर्नुपर्ने सांसदहरूले माग गरेका छन् । सांसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आजको बैठकमा सांसदहरूले सरकारी खर्चमा हुने भ्रमणमा सरकारी वायुसेवा सञ्चालनमा रहेका ठाउँमा जाँदा त्यसको प्रयोग अनिवार्य हुनेगरी नीति तथा योजना बनाउनुपर्नेमा सुझाव दिएका हुन् ।
सांसद बलबहादुर केसीले केही समयअघि प्रधानमन्त्रीले चीन भ्रमणको क्रममा सरकारी वायुसेवा प्रयोग नगरी निजी वायुसेवा प्रयोग गर्नु गलत भएको टिप्पणी गर्दै सरकारी वायुसेवा अनिवार्य गर्ने गरी प्रावधान ल्याउनुपर्ने सझुाव दिनुभयो । सांसद जितेन्द्रनारायण देवले भारतमा सरकारी निकायले ‘एअर इण्डिया’को उडान गर्नुपर्ने अनिवार्य प्रावधान रहेको उदाहरण दिँदै नेपालमा पनि त्यो आवश्यक रहेकामा जोड दिनुभयो ।
सांसद कमला शर्माले सरकारी भ्रमणमा नेपाल वायुसेवाको जहाज हुँदाहुँदै अन्य जहाज प्रयोग गर्नु उपयुक्त नभएको टिप्पणी गर्दै त्यसको कारणको समेत खोजी हुनपर्ने धारणा राख्नुभयो । सांसदहरूले नेपाल वायुसेवा निगमको जहाज उडानको तोकिएकै समयमा हुनुपर्ने, सेवा र सुरक्षालाई प्राथमिकतामा राख्नुपर्नेलगायतका सुझाव दिएका थिए ।
‘विमानस्थलको व्यवस्थापन र सञ्चालनमा सुधार गर्न निर्देशन’
समितिको आजको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत अन्य विमानस्थलको हवाई उडान समयमा गर्न तथा सरसफाइ, पार्किङ, ट्याक्सी व्यवस्थापनमा सुरधार ल्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।
बैठकले यात्रुका सामान समयमा दिने व्यवस्था गर्न, विमानस्थलभित्र रहेका पसल र व्यवसायलाई व्यवस्थित गर्न, जहाजको टिकट मूल्य निर्धारण ठोस मापदण्डको आधारमा तोक्न, सुरक्षाकर्मी र कर्मचारीलाई मैत्रीपूर्ण व्यवहारका गर्न तथा सुरक्षा सतर्कतामा अझ सुधार गर्न निर्देशन दिएको छ ।
विमानस्थलको भौतिक पूर्वाधार निर्माण कार्यलाई छिटो र प्रभावकारी बनाउन निर्माण कार्यलाई सम्झौतामा तोकिएको समय सीमाभित्र सम्पन्न गर्न र ठेक्का सम्झौतामा बिना कारण अनावश्यक म्याद थपी समय बढाउने, अनावश्यक भेरिएसन गर्ने कार्य भएकाले सम्बन्धमा छानबिन गरी यसमा संलग्न कर्मचारीलाई आवश्यक कारबाहीको लागि नेपाल सरकारलाई निर्देशन दिएको छ ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल, सचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेलगायतले विमानस्थलमा देखिएका समस्या र समाधानका लागि भइरहेका प्रयासबारे जानकारी गराउनुभयो । रासस
प्रतिक्रिया