भक्तपुर । भक्तपुर जिल्ला अदालतले बालिका अपहरण गरी हत्या गरेको अभियोगमा मोरङ उर्लाबारी नगरपालिका–३ घर भई हाल मध्यपुरथिमि नगरपालिका–१६ मनोहरा सुकुम्बासीका राजकुमार भन्ने नरबहादुर श्रेष्ठलाई २३ वर्ष कैद सजाय सुनाइएको छ ।
विसं २०७२ फागुन ७ गते राति ६ वर्षीया बालिकालाई अपहरण गरी मनोहरा फाँटको खेतमा लगेर पटक÷पटक बलात्कार गरेर गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ परेका श्रेष्ठलाई न्यायाधीश लिप्तबहादुर थापाको एकल इजलासले हिजो उक्त फैसला गरेको हो ।
अदालतले श्रेष्ठबाट रु एक लाख जरिवाना असुल गर्ने र पीडितलाई रु एक लाख क्षतिपूर्ति भराउने फैसला समेत गरेको अदालतका श्रेस्तेदार हरिकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसैगरी तीन जना बालिकालाई भक्तपुरको जगातेस्थित हबनव रेस्टुराँमा लगेर बलात्कार गरेको अभियोगमा पक्राउ परेका सिन्धुपाल्चोक सागाचोक गाविस–७ घर भई हाल मध्यपुरथिमि नगरपालिका–१५ बस्ने वर्ष २५ का कविराज थापा र सोही ठाउँका प्रवीण कार्कीलाई पनि अदालतले पूर्पक्षका लागि कारागार चलान गरेको उहाँले बताउनुभयो । रासस
प्रतिक्रिया