मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सर्पदंशका बिरामी उपचारविहीन

सर्पदंशका बिरामी उपचारविहीन


महोत्तरी । महोत्तरीको गौशालास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा विगत छ महिनादेखि उपचारका लागि आउने सर्पदंशका बिरामीलाई उपचार नगरी अन्यत्र पठाइँदै आएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अशोक यादव नियमित रुपमा उपस्थित नभएपछि सर्पदंशका बिरामीलाई उपचार नगरी बाहिर पठाउँदै आएका छन् ।
 
गत भदौमा सर्पदंशको उपचार गराउन आएकी एकजना वृद्धाको उपचारका क्रममा निधन भएपछि कुनै सर्पदंशका बिरामीको उपचार नभएको अस्पताल स्रोतले जनाएको छ ।
 
अस्पतालका जिम्मेवारी व्यक्ति मेडिकल सुपरिटेन्डेन्ट नियमित रुपमा उपस्थित नहुनु तथा अस्पताल व्यवस्थापन समितिसमेत महिनौँदेखि निष्क्रिय भएपछि अस्पतालमा आउने सर्पदंशका बिरामीलाई बर्दिवास, जनकपुर, सर्लाही, सिरहालगायतका स्थानमा पठाउँदै आएको सो अस्पतालका चिकित्सक राजकिशोर यादवले बताउनुभयो । 
 
अहिलेको गर्मीयाममा यस अस्पतालमा प्रत्येक दिन एक दुईजना सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको चिकित्सक यादवले जानकारी दिनुभयो ।
 
त्यस्तै सोही अस्पतालमा प्रसूति गराउन आएकालाई समेत बाहिर पठाउँदै आएको अर्का चिकित्सक अनिता यादवको भनाइ छ । सामान्यबाहेक जटिल परिस्थिति भएका प्रसूतिको उपचारका लागि अस्पतालमा अक्सिजनको व्यवस्था नभएपछि त्यस्तालाई भने बाहिर पठाउँदै आएको चिकित्सक यादवले बताउनुभयो ।
 
जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित सो अस्पतालमा त्यस क्षेत्रका डेढ दर्जनभन्दा बढी गाविसका सर्वसाधारण उपचार गराउन आउने गरेका छन् ।
 
दुईवटा एमवीवीएसस्तरको चिकित्सकको दरवन्दी रहेको सो अस्पतालमा हाल आएर एक जना एमविविएस स्तरको चिकित्सक नियमितरुपमा उपस्थित नभएपछि सेवाग्राही प्रत्यक्ष मर्कामा परेका छन् । रासस