अदिस अबाबा (इथियोपिया) । करिब एक महिना पहिले इथियोपियाको सीमाक्षेत्रबाट अपहरण गरी लगिएका झन्डै १२५ जना बालबालिकामध्ये १९ जनालाई इथियोपिया र दक्षिण सुडानी अधिकारीको संयुक्त पहलमा मङ्गलबार सकुशल अपहरणमुक्त भएका छन् । यसैगरी अपहृत अन्य बालबालिकालाई उद्धार गराउने प्रयासस्वरुप पहल भइरहेको र केही दिनभित्रै अनय केहीलाई उद्धार गरिने इथियोपियाली सरकारका प्रवक्ता गेटाचु रेडाले बताउनुभएको छ ।
अपहरणपछि दक्षिण सुडान लगिएका बालबालिकालाई छुटाउने प्रयासस्वरुप सुडानका जनजाति नेतालगायत सरकारसँग वार्ता भइराखेको इथियोपियाबाट प्राप्त समाचारमा उल्लेख छ । दुई हप्ताअघि इथियोपियाको गाम्वेला क्षेत्रबाट अपहरणमा परेका १२५ जना इथियोपियाली बालबालिकामध्ये ३२ जना सकुशल फिर्ता भएका थिए ।
दक्षिण सुडानबाट आएको एक समूहले करिब एक महिना अघि २०४ जना इथियोपियाली गाउँलेहरूको हत्या गरेको र करिब १२५ जना बालबालिकाको अपहरण गरी दुई हजार वस्तुभाउ लुटेर दक्षिण सुडानी सीमा क्षेत्रतिर लगेका इथियोपियाली सरकारले जनाएको थियो ।
गाउँलेको हत्यापछि बालबालिकाको अपहरण गरी लगेको समूहलाई दुवै देशको सुरक्षाकर्मीको सहयोगमा उद्धार प्रयास जारी रहेको इथियोपियाली सरकारले बताएको छ । बालबालिकालाई दक्षिण सुडानको मुर्ले समुदायकोे एक समूहले अप्रिल १५ का दिन लगेको थियो । रासस/एएफ्पी
प्रतिक्रिया