कोपनहेगन । डेनमार्कले अफगानिस्तानमा थप १६ जना सैनिक पठाउने भएको समाचार छ । उसले नेटो संगठनसँगको सम्बन्ध थप विस्तार र उक्त संगठनमा गर्ने योगदानस्वरुप ती सेना पठाउन लागेको जनाएको छ ।
डेनमार्क सरकारले बुधबार सो जानकारी दिएको छ । सरकारले मङ्गलबार मात्र सो निर्णय गरेको समाचारमा जनाइएको छ ।
जनाइएअनुसार डेनमार्कले सो सैनिक सहयोगसँगै अफगानिस्तानलाई आर्थिक सहयोग पनि गर्ने भएको बताएको छ । उसले अफगानिस्तानलाई वार्षिक करिब डेढ करोड अमेरिकी डलर बराबर सहयोगको घोषणा पनि गरेको छ ।
विगत लामो समयदेखि हिंसाको चपेटमा परिरहेका यस देशलाई सामाजिक सहयोगस्वरुप यो आर्थिक र सेना पठाउने सहयोगको घोषणा गरेको सो देशले जनाएको छ ।
डेनमार्कको विदेशमन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएअनुसार उक्त देशले पठाउने सेनालाई अफगानिस्तानको राजधानी काबुलमा राखिने छ । डेनमार्कको सेनाले लडाईंमा जाने नभई अफगान सुरक्षा निकायलाई सुझाव र परामर्श गर्ने गर्छ ।
डेनमार्कका विदेशमन्त्री क्रिस्टियन जेन्सनले भन्नुभएको छ– एसियाली यो देश लामो समयदेखि हिंसाको चपेटामा परेकोले उसलाई सैन्य एवम् अन्य मानवीय सहयोग गर्नु हामी सबैको कर्तव्य हो ।
डेनमार्कले अफगानिस्तानमा सन् २००२ देखि नै सेना पठाउने गरेको हो । अहिले पनि अफगानिस्तानमा करिब ८० जना सेना कार्यरत रहेका छन् । ती सेनाले हाल पनि अफगान सुरक्षा निकायलाई आवश्यक सैनिक परामर्श दिने गरेका छन् ।
अफगानिस्तानमा हाल उल्लेख्य मात्रामा नेटो सेना छैन । सन् २०१४ को अन्त्यसँगै नेटो सेनाले अफगानिस्तानबाट युद्धको अन्त्यको घोषणा गरेको हो । यससँगै अफगानिस्तानमा निकै थोरै सङ्ख्यामा विदेशी सेना छ ।
करिब १२ हजारको सङ्ख्यामा हाल त्यहाँ विदेशी सेना रहेका छन् र ती सेनाको नेतृत्व अमेरिकी सेनाले गरेको छ । हाल अफगानिस्तानमा अधिकांश अमेरिकी सेना मात्र रहेका छन् । रासस / एपी
प्रतिक्रिया