मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नारायणहिटी सङ्ग्रहालयबाट सत्र करोड आम्दानी

नारायणहिटी सङ्ग्रहालयबाट सत्र करोड आम्दानी


काठमाडौँ । नेपाल सङ्घीय गणतन्त्रमा प्रवेश गरेपछि स्थापना भएको नारायणहिटी दरबार सङ्ग्रहालय स्वदेशी तथा विदेशी अवलोकनकर्ताको आकर्षणको केन्द्र बनेको छ । 
 
शाह वंशका अन्तिम राजा ज्ञानेन्द्र शाहले राजदरबार त्याग गर्नुअघिसम्म शासन गर्ने मुख्य केन्द्रका रुपमा रहेको नारायणहिटी राजदरबार अवलोकन गर्न अहिले पर्यटकहरुको ओइरो लाग्ने गरेको छ । राजा वीरेन्द्रको वंश नाश हुने गरी भएको हत्याकाण्डको साक्षी भएकाले पनि यहाँ स्वदेशी तथा विदेशी जिज्ञासु तथा अवलोकनकर्ता आउने क्रम बढ्दो छ । सङ्ग्रहालयका अनुसार २०६५ फागुनयता स्वदेशी तथा विदेशी गरी २० लाख ७९ हजार ७६० जनाले सङ्ग्रहालयको अवलोकन गरिसकेका छन् । 
 
स्वदेशी दर्शकका रुपमा १० लाख छ हजार १५५ जना र नेपाली विद्यार्थी मात्रै नौ लाख ५ हजार ३३० जना यहाँ आइसकेका छन् । चीन र दक्षिण एसियाली मुलुकहरुबाट आएका एक लाख १८ हजार ६९९ तथा अन्य मुलुकका ४९ हजार ५७६ जना पर्यटकले सो सङ्ग्रहालयको अवलोकन गरेका छन् । टिकट बिक्री तथा पार्किङ शुल्कबापत सङ्ग्रहालयले रु १७ करोड ४२ लाख ८५ हजार ६०० आम्दानी पनि गरेको छ । 
 
दरबारको नजिकै रहेको नारायणको मन्दिर र हिटीपोखरीको संस्मरणमा राजदरबारको नाम नारायणहिटी भएको हो । नेपाल भाषामा हिटीको अर्थ धारा हो । विदेशी वास्तुविद्को डिजाइनमा नारायणहिटी राजदबारको निर्माणकार्य विसं २०२० मा सुरु भई २०२६ मा सम्पन्न भएको थियो । 
 
राजदरबार निर्माण हुुनुअघि विसं १९०३ मा तत्कालीन प्रधानसेनापति शिवरामसिंह बस्न्यातका कान्छा छोरा काजी धोकलसिंह बस्न्यातको सम्पत्तिका रुपमा रहेको घरपरिसरलाई वीरशम्शेरका पालादेखि चर्चिन थालिएको हो । वीर शम्शेरले निर्माण गर्न लगाएको यो दरबार आफ्ना दुई छोरीको विवाह राजा पृथ्वी वीरविक्रम शाहसँग गराइदिएपछि हनुमानढोका दरबारबाट शाह राजाहरुलाई यहाँ बस्न लगाइएको हो । 
 
रासस प्रतिनिधिसँग कुरा गर्दै नारायणहिटी दरबार सङ्ग्रहालयका प्रमुख रोहितकुमार ढुङ्गानाले सङ्ग्रहालयले हाल नारायणहिटीभित्र रहेको १९ वटा कक्ष सर्वसाधारणका लागि खुल्ला राखेको जानकारी दिनुभयो । बजेटको सीमितता र पूर्वाधारको अभावमा १२ वटा कक्ष खोल्न नसकिएको उहाँको भनाइ छ । 
 
सङ्ग्रहालयमा १४२ कर्मचारी कार्यरत छन् । सङ्ग्रहालयको बृहत्तर विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले यहाँ अवलोकनका लागि आउने आगन्तुकलाई एक दिनको प्याकेज उपलब्ध गराउने योजना रहेको बताउनुभयो । 
 
 
नारायण राजदरबारभित्र घटेको दुर्दान्त घटनाको प्रमुख स्थल त्रिभुवन सदनको पुनःनिर्माण कार्यको प्रथम चरण सकिन लागेको छ । भूकम्पपछि अवरुद्ध दोस्रो चरणको निर्माण कार्य विसं २०७४ भित्र सम्पन्न गरी सर्वसाधारणका लागि खुल्ला गर्ने लक्ष्य सङ्ग्रहालयले राखेको प्रमुख ढुङ्गानाले बताउनुभयो । 
 
स्व श्री ५ त्रिभुवनबाट निर्माण गर्न लगाइएको त्रिभुवन सदनभित्र विसं २०५८ जेठ १९ गते भएको हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमारी श्रुती, अधिराजकुमार नीराजन र राजपरिवारका अन्य केही नातेदारको निधन भएको थियो । 
 
सो कक्षको अवलोकनपछि धादिङबाट आउनुभएका सरिता पौडेलले अझै आफूलाई राजा वीरेन्द्र र रानी ऐश्वर्यको देहावसान भइसकेको भन्ने यथार्थता पत्याउनै मुस्किल भइरहेको बताउनुभयो । 
 
 
विसं २०६५ असार १ गते स्थापना भएको नारायणहिटी सङ्ग्रहालयलाई सोही वर्षको फागुन १५ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वसाधारणका लागि अवलोकन गर्न खुला गर्नुभएको थियो । रासस