चितवन । उमेरले १६ वर्ष पुगे पनि निर्जल थापाको पढाइ ५ कक्षा हो । मोरङ स्थायी घर भएका भरतपुर–९ शरदपुरमा आमाबासँग बस्दै आएका उनी गत दसैंको टीकाको दिन फिल्म हेर्न जाने भन्दै घरबाट निस्किएका थिए । तर, उनी त्यसपछि फर्किएनन् ।
आमाबा नै मजदुरी गर्ने भएपछि निर्जल परिवारको नियन्त्रण तथा रेखदेखमा भएनन् । उनको संगत पनि खराब व्यक्तिहरुसँग भयो । त्यसैको परिणाम उनी सडकमा देखा परे । कलिलो उमेरमा सडकमा देखिएपछि उनलाई चितवन प्रहरीले सडकबाटै उद्दार ग¥यो । भरतपुरमा रहेको सुधार गृहमा राख्यो । गत कात्तिक महिनामा सडकपेटीबाट उद्दार गरिएका निर्जल सोमबार दिनको ४ बजेको समयमा अरु दिनभन्दा फरक देखिए । किनकी दसैंको टीका थापेर घर छोडेका उनले सोमबार आमालाई भेटे । उनी आमातर्फ हेरेर भन्दै थिए, ‘अबदेखि सडकमा आउँदिनँ ।’
उनलाई पढाइ नै छाडेर सडकमा आउन एक बयस्क पुरुष जसले कवाडी संकलन काम गरिरहेका छन्, उनैले प्रोत्साहन गरेका रहेछन् । ‘अब म नियमित स्कूल जान्छु, थापाले भने, ‘मलाई नपढेकोमा पछुतो छ ।’ उनकी आमा पवित्रा थापाले पनि छोरा निर्जललाई मोरङस्थित घरमै लगेर पढाउने बताइन् । ‘छोरी शरदपुर स्कुलमा कक्षा ६ मा पढ्छिन्, पवित्राले भनिन्, ‘खराव मानिसको सम्पर्कले छोरा कतिखेर सडकमा प्लाष्टिक टिप्न आयो हामीलाई थाहा छैन ।’
कात्तिकदेखि हालसम्म प्रहरी नागरिक अभियान ९पीटूसीटू०को संरक्षणमा रहेका थापालाई संस्थाले आमाको जिम्मा लगाएको छ । ‘अभिभावकले अब नियमित हेरचाह गर्छौ, नियमित स्कूल पठाउँछौं भन्ने बाचा गरेपछि अभिभावकको जिम्मा लगाइएको हो, अभियानका अध्यक्ष बेलबहादुर गुरुङले भने,‘बच्चा जिम्मा लगाउनु हाम्रो लागि निकै चुनौतीको काम हो ।’
अन्ततः पारिवारिक पुनर्मिलन गराउने संस्थाको उद्देश्यअनुसार परिवारमा रहने र पुनः सडकमा नफर्कने बच्चाको अभिभावकको मनोविज्ञान र हालको अवस्था तथा बच्चाको चाहना बुझेर अभिभावकको जिम्मा लगाइएको अभियानकी उपाध्यक्ष मीना खरेलले बताइन् । साथै उनले बच्चालाई परिवारको जिम्मा लगाइसकेपछि पनि नियमित निगरानी गरिने बताइन् ।
अभियानका अर्का उपाध्यक्ष जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी वसन्त कुँवरले अभिभावकलाई बच्चा फेरि पनि सडकमा नफर्काउने बचनबद्धता गराएर जिम्मा लगाइएको बताए । यसका लागि अभिभावकसँग आवश्यक कागजात मागिएको र नैतिक दबाबका लागि सहमति नै गराइएको उनले बताए ।
यस अभियानको संरक्षणमा हाल ३९ जना बालक रहेकोमा २ जनालाई भने सोमबार अभिभावकको जिम्मा लगाइएको छ । जिम्मा लगाइएका अर्का बालक भारत सीतामाडी घर भई बेलचोक बस्ने सुनैना शर्माको छोरा बब्लु शर्मा रहेका छन् ।
परिवारको स्थिति, चाहना र बालकको चाहना बुझेर मात्र पारिवारिक पुनर्मिलन गरिने संस्थाका कोषाध्यक्ष निर्देश सेढाईंले बताए । संरक्षित बालबालिकाहरुलाई भउनपा १३ आनन्दपुरमा रहेको एक प्रावि स्कुलमा पढ्ने र नजिकैको भवनमा छात्रावासको व्यवस्था गरिएको छ ।
प्रतिक्रिया