चितवन । बरण्डाभार जंगलभित्रको गैंडा अर्थात् राइनो तालमा डुंगा खियाउनुको रमाइलो बेग्लै हुन्त्यो । सायद त्यहाँ डुंगा खियाउन पक्कै पुग्नु भएको होला ।
थुप्रै म्यूजिक भिडियो र नेपाली सिनेमासमेत छायाङ्कन गरिएको यो तालको दृश्य टिभीमा हेरेर लोभिनेहरु पनि धेरै छन् । यो गर्मीमा शीतल खोज्दै राइनो तालमा डुंगा चढ्न जाने सोच त बनाउनु भएको छैन रु जानुभयो भने तपाइँ खङ्ग्रङ्ग हुनु हुनेछ ।
डुंगा सयरका लागि ख्याति कमाएको राइनो ताल अहिले सुकेर कमिला हिँड्ने भएको छ । झण्डै छ बिघा क्षेत्रफलमा फैलिएको तालको सानो एक कुनामा मात्र पानीको अवशेष बाँकी छ । तालको ठूलो भाग सुकेर पटपट्टी धाँजा फाटेको छ ।
बरण्डाभार जंगल वन्यजन्तुको राम्रो बासस्थल हो । सो क्षेत्रको ताल सुक्दा जंगली जनावरहरुमा नकारात्मक असर पर्ने खतरा बढेको छ । बरण्डाभार क्षेत्रको रामवेल सामुदायिक वनभित्र रहेको छ राइनो ताल । सफा गर्नका लागि ताल सुकाउन र गहिराउन भन्दै केही महिनाअघि पानी झिकेर फ्याकिँएको थियो । तर पानी कम भएपछि ताल सफा गर्ने र गहिरो बनाउने काम अलपत्र छाडियो ।
लामो खडेरीमा पनि तालले कुनै स्याहार नपाएपछि अहिले अस्तित्व नै मेटिने अवस्थामा पुगेको हो । वनका पदाधिकारीहरु वर्षायाममा पानी परेपछि ताल भरिएला नि भन्दै बसेका छन् ।
यस वन क्षेत्रमा लामो समयदेखि घाँस काट्दै आएका रत्ननगर नगरपालिका वडा नं। १० जिरौनाका डिल्लीराम ढकाल तालको अवस्था देख्दा चिन्तित छन् । ‘यसरी ताल कहिल्यै सुकेको थिएन । वर्षायाममा त पानी टन्नै हुन्थ्यो हिउँद र गर्मीमा पनि सधै डुंगा चलाएको देखेको हो । अहिले यसरी स्वाट्टै सुकेछ’ तालनजिक भेटिएका डिल्लीरामले भने ।
‘सफा गर्न र गहिरो बनाउन भनेर पहिला पानी फ्याक्यौं । खडेरी पनि लामो नै चल्यो त्यही भएर अहिले पुरै सुके झै भएको छ । पानी प¥यो भने फेरि भरिएला’ रामवेल सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष चेतबहादुर थापाले भने । तालमा जलकुम्भी र अन्य मिचाहा झार भरिएपछि सफा गर्नका लागि भनेर पानी बाहिर फालेको उनले बताए । ताल सुकाएर एक मिटर गहिरो बनाउने योजना पनि समितिको थियो ।
‘तर काम पूरा भएन । गहिरो बनाउने काम सुरु नै भएन । पानी बाहिर गएकै थियो आकासबाट पनि आएन । त्यसैले ताल सुख्खा भएको हो । ऊ बेलामा पानी नफालेको भए अहिले खडेरी भए पनि केही न केही पानी त हुने थियो होला’ अध्यक्ष थापाले भने । जंगलका विभिन्न क्षेत्रबाट खोल्सामा पानी बग्दै आएर तालको रुप लिएको थियो । वन समितिले अग्लो बाँध बाँधेर डुंगा नै चलाउन मिल्ने आकर्षक ताल बनाएको थियो ।
भरतपुर उपमाहनगरपालिकाको वातावरणमैत्री स्थानीय शासन कार्यक्रमअन्तर्गतको चार लाख २० हजार रुपैयाँ खर्च गरेर ताललाई आकर्षक बनाउने अभियान पनि सुरु भएको थियो । तर जैविक महत्वको जंगलभित्र रहेको पर्यटकीय दृष्टिले पनि आकर्षक ताल अब अस्तित्वमा आउने नआउने शंका बढेर गएको छ । बरण्डाभार जंगल चितवन निकुञ्जलाई चुरेर महाभारत पर्वतसँग जोड्ने महत्वपूर्ण जैविक मार्ग हो ।
तालको पछिल्लो अवस्था अवलोकन गरेका पशु विज्ञान विषयका प्रध्यापक डा कृष्ण काफ्ले यस्तो महत्वको ताल हराउँदा वन्यजन्तुमा नराम्रो असर पर्ने बताउँछन् । दर्जनभन्दा धेरै गैंडा र केही बाघ तथा सयौं हरिण र असंख्य चराहरुले पानी खाने ताल थियो त्यो । पछिल्लो समय डुंगा चलाएर सिनेमा तथा म्युजिक भिडियो त्यो तालको आडमा खिचिएको थियो । भरतपुरनजिकै रहेको पूर्वपश्चिम राजमार्गको टिकौलीबाट लगभग तीन किलो मिटर उत्तरमा यो ताल छ ।
‘पानी सुकेपछि जनावरहरु तिर्खाले छटपटिने छन् । सधँै पानी खाने ठाउँमा अहिले थोरै पानी त छ । त्यो खाना थुप्रै जनावरहरु एकै ठाउँ आउँदा विभिन्न रोगका किटाणु जिवाणु फैलने र रोगको संक्रमण बढ्ने खतरा रहन्छ’ रामपुर कृषि क्याम्पसमा पढाउने प्रध्यापक डा।काफ्लेले भने । कृषि तथा वन विश्व विद्यालयमा पढाउने अनन्त सुवेदीले प्रशस्त चरा र माछा रहेको ताल क्षेत्र मासिनु दुःखद भएको बताए ।
जैविक विविधता सरोकार समाजको निरीक्षण
तालको अवस्थाको बारेमा भरतपुरको जैविक विविधता सरोकार समाजका पदाधिकारीहरुले अवलोकन गरेका छन् । निरीक्षणपछि समाजका सदस्य प्राध्यापक डा कृष्ण काफ्लेले ताल जोगाउन सबैले पहल लिनु पर्ने बताए । ‘खडेरीले हो वा अन्य के कारणले सुकेको हो । जैविक महत्वको क्षेत्रभित्र रहेको यो ताल हराउनु निकै दुःखद हो’ प्राध्यापक डा काफ्लेले भने ।
समाजका सदस्य कृषि तथा वन विश्व विद्यालयका प्राध्यापक अनन्त सुवेदीले ताल पुरै सुकेपछि जनावर र पर्यावरणमा नकारात्मक असर पर्ने तर्फ अहिल्यै सजग हुनुपर्ने बताए । ‘दुई चार महिना अगाडिसम्म हराभरा रहेको ताल अहिले लगभग हराइसकेको छ । यस्तो हुनु राम्रो होइन । किन यस्तो भयो पुरानै स्वरुपमा फर्काउन के गर्न सकिन्छ सबै जागरुक बनौं’ सुवेदीले भने ।






प्रतिक्रिया