मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा वार्षिक ९० करोड अण्डा उत्पादन

नेपालमा वार्षिक ९० करोड अण्डा उत्पादन


चितवन । नेपालमा वार्षिक ९० करोड अण्डा उत्पादन हुने गरेको एक तथ्याङ्कले देखाएको छ । चितवनमा मात्र त्यसको ६० प्रतिशत अर्थात ५५ करोड अण्डा उत्पादन हुने गरेको जनाइएको छ । 
 
नेपाल अण्डा उत्पादक संघको रत्ननगरमा आयोजना गरिएको १३ औं साधारण सभामा क्षेत्रीय पशु सेवा निर्देशनालयले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । नेपालमा वार्षिक एक अर्ब ३० करोड अण्डा आवश्यक रहेको र उत्पादन भने ९० करोड हुने गरेको निर्देशनालयले जनाएको छ । यो अनुपातलाई हेर्दा नेपालमा अझै ४० करोड अण्डाको कमी रहेको देखिन्छ । 
 
वर्षमा एक जनाले सरदर ४८ अण्डा प्रयोग गर्नुपर्ने हुन्छ । तर, नेपालीले जम्मा २४ वटा अण्डामात्र प्रयोग गर्दै आएका छन् । उपभोग र उत्पादनलाई हेर्दा नेपाललाई अझै ४० करोड अण्डाको कमी रहेको क्षेत्रीय पशु सेवा निर्देशनालयका निर्देशक डा। महेश विष्टले बताए । व्यवसायीहरुले ३५ लाख लेयर्स कुखुरा पालेर अण्डा उत्पादन गर्दै आएका छन् । अण्डाको आवश्यकता पूरा गर्न नेपालमा अझै १६ लाख लेयर्स कुखुरा वृद्धि गर्नुपर्ने निर्देशक विष्टले बताए । 
 
सरकारले वार्षिक एक अर्ब ३० करोड अण्डा उत्पादनको लागि कार्ययोजना बनाएरै काम गर्ने योजना बनाएको विष्टले सुनाए । लक्ष्य पूरा गर्न कुखुराको नष्ल सुधार, आहार, स्वास्थ्य र बजार प्रर्वदनलाई प्राथमिकता दिएर काम गर्ने सरकारी योजना रहेको निर्देशक विष्टले बताए । अण्डा उत्पादनको लागि देशभरमा तीन हजार ५०० किसानले लेयर्स कुखुरा पालेका छन् भने चितवनमा मात्र एक हजार ५०० किसानले लेयर्स कुखुरा पालेर अण्डा उत्पादन गर्दै आएको नेपाल अण्डा उत्पादक संघका महासचिव त्रिलोचन कँडेलले जानकारी दिए । 
 
नेपालमा निजी क्षेत्रले पोल्ट्रीमा ६० अर्ब लगानी गरेको छ । पोल्ट्रीको राजधानीको रुपमा विकास हुँदै गएको चितवनमा त्यसको ५० प्रतिशत लगानीमात्र छ । व्यवसायी किसानहरुले आफ्नो सबै लगानी पोल्ट्रीमा गरेका छन् । नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले भने, ‘तर लगानी सुरक्षाको वातावरण सरकारीस्तरबाट हुन सकेको छैन ।’ पोल्ट्रीमा लगानी सुरक्षाको लागि दाना, औषधि, चल्लामा अनुदान र किसान प्रोत्साहन कार्यक्रम सरकारले ल्याउनुपर्ने उनको भनाइ रहेको छ । 
समय समयमा अण्डाको बजार मूल्यमा आउने उतार चढावका कारण किसानहरुले नोक्सानी व्यहोर्नु परेको भन्दै उनले किसान नडुब्ने गरी सरकारले मूल्य समायोजन गर्नुपर्ने बताए । 
 
कार्यक्रममा कुखुरा व्यवसायी मञ्चका अध्यक्ष शँकर कँडेलले खुल्ला बजारमा प्रतिस्पर्धा गर्न पोल्ट्री व्यवसायीले आफ्नो उत्पादनलाई गुणस्तरीय बनाउने तर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए । ‘हाम्रो उत्पादनले अन्र्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनु पर्छ’ उनले भने, ‘त्यसो गर्न सकियो भने मात्र पोल्ट्री क्षेत्र कहिल्यै पनि पछाडि फर्कनु पर्दैन ।’ साधारण सभाको बन्द सत्रमा संघका महासचिव त्रिलोचन कँडेलले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष सुनिलकुमार शाक्यले आर्थिक प्रतिवेदन र अध्यक्ष शिवराम केसीले भावी कार्ययोजना प्रस्तुत गरेका थिए । 
 
कार्यक्रममा कुखुरा व्यवसायी महासंघका उपाध्यक्ष चन्द्रमान श्रेष्ठ, नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष टिकाराम पोखरेल, किसानहरु मिलेन्द्र गौतम, अञ्जन घिमिरे, बाबुराम गिरी, किरण भूषण ओलीलगायतले बोलेका थिए । कार्यक्रम संघका अध्यक्ष केसीको अध्यक्षतामा भएको  थियो ।