काठमाडौँ । जेठो छोरालाई डाक्टर र कान्छो छोरालाई इन्जिनियर बनाउने सपना थियो– पशुपति शर्माका बाबु आमाको । तर कान्छो छोरो पशुपतिले भने उनीहरूले भनेको मानेनन् । जेठो छोरो डाक्टर बन्न विज्ञान विषय लिएर पढिरहेका थिए । पशुपतीलाई इन्जिनियर पढ्ने दबाब परिवारबाट निरन्तर दिनहुँ आयो । तर, उनले मानेनन् । मानुन् पनि कसरी ? उनमा गायक बन्ने भुत सवार भएको थियो ।
गायक बन्नको लागि घर परिवारबाट सुरू भएको उनको संघर्षको यात्रा अझै जारी छ । फरक यति मात्रै हो, हिजो गायन पेशा अपनाउँछु भनेर घरमै संघर्ष गर्नु प¥यो, आज संगीतकर्मीहरूसँग प्रतिस्पर्धाको संघर्ष । तर उनको बाटो अलि फरक भएकाले होला उनले समकालीनहरुसँग त्यति धेरै सांगीतिक पौंठेजोरी भने खेल्नुपरेको छैन । नाम र दामका लागि संघर्षको मैदानमा होमिनु परेको छ । उनलाई लाग्छ, म एक्लो यात्री हुँ ।
सानो छँदा प्रेमराजा महत, नारायण रायमाझी, बमबहादुर कार्की, लोकबहादुर क्षेत्रीका गीत रेडियोमा सुन्दा उनलाई पनि रेडियोमा घन्किने रहर जाग्यो । त्यसैले त उनले इन्जिनियर पढ्न मानेन् । घरमै विद्रोह गरे । सँगैका साथी लोकसेवा पढ्थे उनी भने लोकदोहोरी साँझमा दोहोरी खेलेर बस्थे । उनलाई त्यसमै थियो मज्जा ! त्यसमै थियो जिन्दगी…!
गीत गाएर भोलि स्थापित भइएला भन्ने कुनै निश्चित थिएन । केवल रहर थियो । सफलताको शिखरमा पुग्ने रहर सबैलाई हुन्छ । तर त्यो भेटिन्छ या भेटिँदैन ? त्यो भविश्यकै गर्वमा हुन्छ । तर पनि उनले हिम्मत गरे । गायनमै होमिए । दाइ डाक्टर हुँदै थिए । दाइ आर्थिक रुपमा सुरक्षित हुँदै थिए । तर, उनले आफ्नो भविश्यमा जुवा खेलिरहेका थिए ।
काठमाडौं आए । आरआर क्याम्पसमा भर्ना भए । काठमाडौं आएसँगै उनको सांगीतिक यात्रा सुरु भयो । दोहोरी साँझहरुमा गीत गाउन थाले । तेरो ‘स्वरमा जादु छ’ भन्थे उनका साथीहरुले । साथीहरुले यसो भन्दा उनी हौसिन्थे । साँच्चै गाउन सक्छु भन्ने लाग्थ्यो । भविश्य राम्रै हुन्छ कि भन्ने आशा पलाउँथ्यो ।
उनलाई आफ्नो दोहोरीमा ल्याउन दोहोरी साँझहरु तँछाड मछाड गर्थे । पशुपतिले सप्तकोशी दोहारी साँझ, नगरकोट दोहोरी साँझ, गाम्बेशी दोहोरी साँझ, गण्डकी दोहोरी साँझ, देउराली दोहोरी साँझ, सुनधारा दोहोरी साँझमा काम गरे । छ वर्ष दोहोरी साँझमा काम गर्दा उनको चौतर्फी प्रसंशा त हुन्थ्यो तर उनलाई दोहोरी साँझ बाहेक अन्त कतै पहिचान थिएन । दोहोरीका समकालीन साथीहरु भने बजारमा आइसकेका थिए । गीत लोकप्रिय भइसकेका थिए ।
तर, उनी भने दोहोरी साँझमै रुमल्लिरहेका थिए, कुहिरोको काग झैँ । उनलाई पनि एल्बम सार्वजनिक गर्नुपर्छ भन्ने लागिरहेको थियो । एउटा गीत रेकर्ड गरे । गीत तयार भयो । कुरकुरे बैंस थियो । गीतहरु मायाँ प्रेमकै बजेका सुनिन्थे । उनले पनि त्यस्तै गीत गाए । उनलाई लाग्यो अब म गायक बनेँ । गीतहरु रेडियोमा बज्छन् । मलाई सबैले चिन्छन् । रातारात ‘हिट’ हुन्छ । सेलिब्रिटी हुने भएँ ।
काठमाडौंमा अध्ययन गरिरहेका पशुपति गाउँ गएका थिए । रोपाईंको चटारो थियो । किसानको छोरो, काम गर्नै पर्ने । रोपाईंका लागि मेलामा थिए । सबै काम गरिरहेका थिए । पोखराबाट बज्ने एउटा एफएम रेडियोबाट लोकगीतको कार्यक्रम बज्छ भन्ने उनलाई सम्झना आयो । उनले बिरामी परेको नाटक गरे । उनकी दिदीले पशुपतिलाई आराम गर्न घर जाउ भनिन् । नक्कली बिरामी उनी घर गएर कार्यक्रम सुन्न थाले । कार्यक्रम सकिन लाग्यो, आफ्नो गीत बज्दैन । मुटुको धड्कन रोकिएला जस्तो हुन्छ, र पनि गीत बज्दैन । कार्यक्रम प्रस्तोताले कार्यक्रमको मैजारो गरे । तर, गीत बजेन ।
उनलाई लागेको थियो मेरो गीत सबै रेडियोबाट बज्छन् । बजिरहेका छन् । त्यही दिन उनलाई थाहा भयो गीत गाउँदैमा गायक बनिँदो रहेनछ, गीत रेकर्ड हुँदैमा रेडियोबाट गीत बज्दा रहेनछन् । बिडम्बना पशुपतिले आफ्नो पहिलो गीत आजसम्म पनि रेडियोबाट सुनेका छैनन् ।
उनको नयाँ अध्याय सुरु भयो । दैनिकी परिवर्तन भयो । लोकसेवाका ठेली किनेर ल्याए र त्यसैमा आफूलाई समर्पित गराए । लोक सेवाको एक वर्षको तयारी पछि उनले परीक्षा दिए । परीक्षाको नतिजा आयो । उनी त्यही ठेली भित्रै कतै हराएछन् । उनी फेल भए । उनलाई लाग्यो मेरा लागि यो विषय होइन । अब यसमा टाउको दुखाइरहनु जरुरी छैन ।
लगाव र झुकाव भएको संगीत नै हो । यही मेरो जिन्दगी हो भन्ने पशुपतिलाई लाग्यो । सके यसैमा केही गर्छु । नसके ‘देखा जागेगा’ नयाँ निर्णय लिए । दोहोरी मै केही गर्नु पर्छ । एक वर्ष पछि उनी चौबाटाहरु बीच पुरानै बाटो फर्किए । तर बाटो सहज थिएन । जनताको मन जित्नु र त्यसमा बस्नु सजिलो पक्कै थिएन । तर पनि यो चुनौती उनले स्वीकारे । पुरानो संघर्षमा जोडिए तर त्यसलाई नयाँ रुप दिन सुरु गरे ।
लोक गीतको बजार उत्कर्षमा थियो । जताततै लोक गीत बज्थे । सबै हिट, सबै राम्रा । उनी भने जन्मिनै बाँकी थियो । हजारौं गायक गायिकाको सूचीमा उनलाई अटाउनु मात्रै थिएन । एकै पटक सफलताको पारो माथि चढाउनु थियो । उनलाई थाहा थियो यो फलामको चिउरा चपाउनु थियो ।
उनलाई लाग्यो–मैले माया प्रेमका गीत गाएर आफ्नो पहिचान बनाउन सायद सक्तिन । हजारौंको भिडमा कतै विलिन हुन्छु । त्यसैले केही फरक गर्नुपर्छ । अरुले नगरेको गर्न सक्नु पर्छ । त्यसैले पशुपतिले माया पिरतीका गीत गाउने जिम्मा अरुलाई छाडिदिए । सुरु गरे, समाजका विकृति र विसङ्गती बिरुद्ध चोटिलो प्रहार ।
चर्चित कलाकारहरुलाई पनि मैले लेखिएदिएको गीत गाएर, गरिदिएको संगीतले ‘फलानो’ कलाकार हिट भयो भन्ने स्टुडियोमा सुनेका उनलाई गीत आफै लेख्नु पर्छ र लय पनि आफैले सङ्कलन गर्नु पर्छ भन्ने लाग्यो । र सुरु गरे गीत लेख्न र लय सङ्कलन गर्न पनि ।
पहिलो गीत लेखे– ‘सरले उता पढाउने हाम्ले आँखा जुधाउने चित्त बुझाउने’ । गीत रेकर्ड भयो । सबैले गीत मन पराए । उनलाई जन्माउने गीत यही हो । भलै यसलाई लिएर केही विवाद पनि भयो । “मैले सकारात्मक सन्देश दिन गीत तयार गरें, केहीले यसलाई फरक दृष्टिकोणले बुझिदिनु भयो । त्यो उहाँहहरुकै कमजोरी हो । अहिले कलेजमा निकै धेरै देखिने समस्या हो यो’ उनले भने ।
‘सरले उता पढाउने हाम्ले आँखा जुधाउने चित्त बुझाउने’ गीत उनका लागि फलिफाप भयो । उनलाई कलेक्सन एल्बममा गीत गाउनका लागि अफर आउन थाले । स्टेज कार्यक्रममा भ्याई नभ्याई हुन थाल्यो । फरक गरे मात्र चिनिन सकिन्छ र सिर्जना अमर अजर हुन्छन् भन्ने उनी कलेक्शन एल्बममा गीत भने गाउँदैनन् ।
नवप्रवेशीहरुलाई उनी सहयोग गर्छन् । बाटो देखाउँछन् । सके आफैं गीत लेखिदिने र लय शंकलन गरिदिने गर्छन् । तर पैसाकै लागि भने गाउँदै हिँड्दैनन् । किन भने उनलाई आफ्नो फरक पहिचान जोगाउनु छ । आफ्ना स्रोता तथा दर्शकलाई न्याय गर्नुछ ।
हुन त उनको अहिले समय छ । धपक्कै बलेको समय हो यो उनको । धेरै कलाकार सयौं गीत रेकर्ड गर्छन् । स्टेज कार्यक्रम पाउँदैनन् । तर उनी थोरै गीत रेकर्ड गर्छन् स्टेजमा धेरै चढ्छन् । उनका गीत गन्ने हो भने सय नाग्दैनन् । दर्जनौंमै सीमित छन् ।
उनले आफ्नो विवाहमा लिएको ९ लाखसहित १७ लाख ऋण गीत गाएर तिरीसके । काठमाडौं र पोखरामा घडेरी पनि जोडे । मेसो मिलेमा घर पनि बनाउने तयारीमा छन् । भन्छन्, ‘मैले करोड माथि नै कमाइसकें होला, हिसाव भने गरेको छैन । मलाई अमेरिका यै, जापान पनि यै ।’ -बाह्रखरीबाट
प्रतिक्रिया