मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मधेसी मोर्चाबाट संसद बहिष्कार

मधेसी मोर्चाबाट संसद बहिष्कार


काठमाडौँ । व्यवस्थापिका–संसदको शुक्रबारको बैठकको प्रारम्भमा समय माग गरी संयुक्त गठबन्धनका तर्फबाट सांसद अशोक राईले सरकारले आदोलनरत मधेसी मोर्चाले उठाएको मागलाई बेवास्ता गरेको आरोप लगाउँदै बैठक बहिष्कार गरेको घोषणा गरे ।   
 
नेपालको संविधान अन्तरिम संविधानभन्दा पनि विभेद्कारी रहेकाले जस्ताको तस्तै कार्यान्वयन नगरी पुनःलेखन हुनुपर्ने बताउँदै उनले विगतदेखिको माग पूरा गर्न दोस्रो चरणको आन्दोलन प्रारम्भ भइसकेको र यो आन्दोलन राष्ट्रव्यापी हुने पनि उल्लेख गरे ।
 
मधेस आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकलाई सहिद घोषणा गरिनुपर्ने, बिरामीको उपचार गरिनुपर्ने, विगतका घटनाको छानबिन गरी झुटा मुद्दा फिर्ता हुनुपर्नेजस्ता मागप्रति सरकारले बेवास्ता गरेको र सार्थक वार्ता गरी निकास निकाल्न अनिच्छुक भएको उनले आरोप लगाए । 
 
सांसद राईले  भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माणको काम सन्तोषजनक नभएको र भ्रष्टाचार मौलाएको आरोप पनि लगाए । रासस