मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिरियाली सहर अलेपोमा भीषण भिडन्त, ७० भन्दा बढी मारिए

सिरियाली सहर अलेपोमा भीषण भिडन्त, ७० भन्दा बढी मारिए


अलेपो । अमेरिका र रसियाको दबाबमा सिरियाली सहर अलेपोमा हिजोदेखि युद्धविराम भएको भनिए पनि शुक्रबार पुनः भिडन्त भएको खबर छ ।
 
सिरियाली सैनिक र अल कायदाका लडाकूबीच भएको भनिएको सो भिडन्तमा परी ७० जनाभन्दा बढीको ज्यान गएको बताइएको छ । अल नुस्रा फन्ट र अल कायदाको अर्काे गठबन्धनले सरकारी सुरक्षाकर्मीसँग भिडन्त गरेको थियो । यी मुस्लिम अतिवादीहरुले अलेपोको तुमन गाउँलाई घेरामा हाली बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म आक्रमण गरेका थिए ।
 
सो आक्रमणमा परी ७० जना भन्दा बढीको ज्यान गएको छ । उक्त गाउँ घेरा हाल्ने विद्रोही समूहलाई सैनिकले कारबाही गरेको हो । सो आक्रमणमा परी अल नुस्रा फन्टका मात्र ४३ जना मारिएका छन् । साथै अरु ३० जनामा सरकारी सुरक्षाकर्मी र अन्य केही विद्रोही परेका बताइएको छ । सिरियाली सैनिक अलेपोमा युद्धविराम गर्न बिहीबारमात्र सहमत भएको समाचारमा जनाइएको थियो । अमेरिका र रसियाले सिरियाली सहर अलेपोमा युद्धविरामका लागि त्यहाँको सेनासमक्ष दबाब दिएका थिए । 
 
सिरियामा करिब महिनादिनदेखि युद्धबिराम जारी रहेको छ । तर यसै अवस्थामा अलेपोमा भने भिडन्त भइरहेको छ । सो भिडन्तमा परी कैयौँ नागरिकले ज्यान गुमाएका छन् । अलेपोकै कारणले सिरियामा युद्धविराम भङ्ग हुने र जसले गर्दा सिरियाको शान्ति वार्ता नै अवरुद्ध हुने खतरा बढ्दै गएको भनिएका बेला आज पुनः यो भिडन्त भएको समाचार आएको छ । युद्धविराम कायम रहेकै बेला गत अप्रिल २२ देखि सिरियाली अलेपो सहरमा हिंसा सुरु भएको हो । सो हिंसामा परी कम्तीमा पनि ३०० जनाभन्दा बढीको जनाको ज्यान गएको छ । 
 
सन् २०११ को मार्च महिनादेखि त्यहाँका राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै सो आन्दोलन सुरु भएको हो । पछि यो आन्दोलन गृहयुद्धमा परिणत भएको छ । सो समयदेखि हालसम्म जारी हिंंसा तथा द्वन्द्वमा परी दुई लाख ७१ हजार भन्दा बढी सर्वसाधारण एवम् सुरक्षाकर्मीले ज्यान गुमाएको तथ्य बेलायतसँग आबद्ध सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाएको छ । यस द्वन्द्वमा ७९ हजारभन्दा बढी सर्वसाधारण नागरिक मारिएका र यसमा १३ हजार ५०० बालबालिका र करिब नौ हजार महिला रहेका छन् । 
 
सिरियामा केही महिनायतादेखि युद्धविराम भएको छ । त्यसको अनुगमन संयुक्त राष्ट्रसङ्घ र अमेरिकाले गरिरहेका छन् । वार्ताको प्रयास भइरहेको छ तर सुरु भने हुन सकिरहेको छैन । लामो समयदेखि युद्धविराम कायम रहेको भए पनि वार्ता हुन सकिरहेको छैन । त्यसैले अमेरिकी विदेशमन्त्री जोन केरी पनि वार्ताको वातावरणका लागि बर्लिन पुग्नुभएको छ । अमेरिका र रसियाको दबाबका कारण बिहीबार सिरियाली सैनिक अलेपोमा ४८ घन्टे युद्धविराम गर्न तयार भएको छ । जसका कारण शान्ति वार्ताको प्रक्रिया पनि अघि बढ्न सक्ने अनुमान गरिएको थियो ।
 
अलेपोमा सरकारी सेनाले नै युद्धविराम भङ्ग गरेर आक्रमण थालेको विपक्षीहरुको भनाइ छ । उता अर्काेतर्फ सरकारी सेनाले भने विपक्षीले हमला गर्ने गरेको जनाएको छ । तर बिहीबार राति भने अल कायदासँग आबद्ध लडाकूले सो हिंसा मच्चाएको र उनीहरु विरुद्धको कारबाहीका लागि मात्र सरकारी सेनाले आक्रमण गरेको स्पष्ट गरेको छ । रासस / एपी