मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गैंडाकोटबाट एनसेल बहिस्कार अभियान सुरू

गैंडाकोटबाट एनसेल बहिस्कार अभियान सुरू


नवलपरासी । राजस्व नतिरेको भन्ने विवादमा मुछिएको निजी क्षेत्रको मोबाइल फोन सेवा प्रदायक कम्पनी एनसेललाई राजस्व तिर्न दबाब दिने उदेश्यले गैंडाकोटका युवाहरुले बिहीबार बिहानदेखि मोबाइल फोन सेटबाट एनसेलको सीम कार्ड झिक्ने अभियान सुरू गरेका छन् । सरकारलाई राजस्व नतिरे एनसेलको सिम पनि प्रयोग नगर्ने उनीहरुले बताए ।
 
गैंडाकोटको राइजिङ स्टार स्पोर्टस क्लबले यो अभियानको सुरूवात गरेको हो । ‘कर तिर्नु सबैको दायित्व हो । राज्यलाई तिर्ने ठूलो दायित्व पुरा नगर्ने विरुद्ध हामी दबाब अभियानमा लागेका हौं । हामीले सिम संकलन सुरू गरेका छौं । स्वस्फुर्त रुपमा सिम झिक्नेहरु बढेका छन् । कर तिर्दैन भने एनसेलको सिम अब फोन सेटमा राखिदैन’ क्लबका सचिव शिव अधिकारीले भने ।
 
क्लबका सदस्यहरुबाट सुरू भएको यो अभियान टोलटोलमा पु¥याउने उनले बताए । ‘यति ठूलो कम्पनीले कर तिरेन भन्ने सुन्दा ज्यादै दुःख लाग्यो । हामी एनसेललाई जिम्मेवार बनाउने अभियानमा लागेका हौं’ क्लबका अध्यक्ष रमेश ढकालले भने । विस्तारै आफूहरुले गैंडाकोटभरी अभियान चलाउने योजना बनाएको उनले बताए । राजश्व तिर्न आनाकानी गर्दै राखे थप सैलीका कार्यक्रमहरु पनि गर्ने उनले बताए ।
 
गत महिना मात्रै एनसेलको व्यवस्थापन परिवर्तन भएको छ । खरिद बिक्री प्रकृयासँगै एनसेलले कर तिर्न आनाकानी गरेको समाचार सार्वजनिक भएको हो । एनसेलले ४० अर्ब रूपैयाँ तिर्न नखोजेको चर्चा चल्दै आएको छ । यो चर्चासँगै एनसेललाई कर तिर्न दबाब दिनका लागि देशका अन्य भागमा पनि युवाहरुले स्वस्र्फुत अभियान चलाउन थालेका छन् ।
 
संसदीय समिति पनि एनसेललाई कर तिराउन प्रयासरत छ । संसदको सार्वजनिक लेखा समितिको बुधबार बसेको बैठकमा एनसेलको कर प्रकरणका बारेमा छलफल भएको थियो । बैठकमा संसदहरुले कर नतिरे एनसेललाई खारेजसम्म गर्नु पर्ने धारणा राखेका थिए ।
 
गएको माघमा एनसेलको स्वामित्व टेलियासोनेराले मलेसियाको एक्सियाटालाई बिक्री गर्ने घोषणा गरेको थियो । चैत २९ गतेदेखि एनसेलको व्यवस्थापन एक्सियाटाले सम्हाल्न सुरू गरेको छ । सरकारी निकाय ठूला करदाता कार्यालयले वैशाख २ मा कर बुझाउन चिठ्ठी काट्दा नतिर्ने आसय व्यक्त गरेपछि एनसेलको चौतर्फी विरोध सुरू भएको हो । झापाबाट बहिस्कार अभियान सुरू भएको हो ।
 
ठूला करदाता कार्यालयले दिएको कर तिर्ने म्याद वैशाख २५ गते सनिबार सकिँदै छ । कर नलाग्नेभन्दै टेलियासोनेराले दुई दुई पटक विज्ञप्ती निकाले पनि सरकारी प्रयास कमजोर रहेको भन्दै नागरिक समाज स्वस्फुर्त रुपमा कर तिराउने अभियानमा लागेको छ । 
 
कर तिर्न आग्रह
 
वाइसिएलले मुलुकको नियम तथा कानुनअनुसार पुँजीगत लाभकर तिर्न एनसेललाई आग्रह गरेको छ । नेपालको ऐन तथा कानुनलाई पालना गर्नु जुनसुकै व्यापारिक निकाय तथा संस्थाका लागि बाध्यकारी भएको सन्दर्भमा नेपाली जनताले तिरेको करबाट प्राप्त भएको सम्पत्तिका विषयमा प्रश्न उठाउने अधिकार जो कोही हुने वाइसिएलले जनाएको छ । 
 
वाइसिएलका अध्यक्ष रामप्रसाद शर्मा र महासचिव रामप्रसाद सापकोटाले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्पत्ति जुन देशमा सिर्जना भएको हुन्छ राजस्व त्यही देशले पाउनुपर्छ भन्नेमा हामी अडिग छौँ । नेपाली जनतालाई छल्ने काम कोही कसैबाट पनि हुन हुँदैन ।’