मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

क्यान्सर अस्पतालमा एम्बुलेन्स सञ्चालनमा अनियमितता

क्यान्सर अस्पतालमा एम्बुलेन्स सञ्चालनमा अनियमितता


चितवन । बेथितिले लथालिंग बनेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अस्पतालको मातहत रहेका एम्बुलेन्सहरु अनियमित ढंगले सञ्चालन भएको पाइएको छ । अस्पतालमा रहेका २ वटा एम्बुलेन्समध्ये एउटामात्र सञ्चालनमा छ । सञ्चालनमा रहेको एम्बुलेन्स अहिले अस्पतालको सम्बन्धित विभागको नियन्त्रणमा छैन । एउटा एम्बुलेन्स बिग्रिएर ग्यारेजमा थन्किएको छ । अस्पतालमा रहेको शववाहन ६ वर्षदेखि प्रयोगमा छैन । 
 
चितवनको एउटैमात्र शववाहन ५० हजार रुपैयाँ खर्च गर्न नसक्दा प्रयोगविहीन छ । बा ३ च ३९१७ नम्बरको एम्बुलेन्सका चालक बेनुप्रसाद पाठकले ७ महिनादेखिको भाडा नबुझाएको अस्पताल प्रशासनले जनाएको छ । सवारी शाखा इन्चार्ज छविलाल लामिछानेले एम्बुलेन्स चालकले भनेको नटेर्दा राजश्व संकलन प्रभावित भएको बताए । 
 
‘प्रत्येक महिनाको आम्दानी खर्च विवरण मलाई पेस गर्नुपर्छ’, उनले भने, ‘त्यसपछि मैले लेखामा पेस गर्ने हो ।’ कार्यकारी निर्देशकले हिसाव बुझाउन आदेश गरे पनि चालक पाठकले अटेर गर्दै आएका छन् । महिनामा कति रकम संकलन हुन्छ भन्ने खासै हिसाव आफूसँग नभएपनि लाखौं रुपैयाँ जम्मा नभएको उनले बताए । 
 
एम्बुलेन्स सञ्चालनमा देखिएको समस्याबारे जिज्ञासा राख्न अस्पताल प्रशासनमा एक घण्टा कुर्दा पनि कार्यकारी निर्देशक सिवि पुन व्यस्त भएपछि कुनै प्रतिक्रिया पाउन सकिएन । पाठकले क्यान्सर अस्पतालबाट अन्य गाडी चालक सरहको सेवासुविधा पाउँछन् । तर प्राथमिकता भने क्यान्सरका बिरामीलाई दिँदैनन् । ‘मैले रकम नबुझाएको कुरा सत्य हो, चालक पाठकले भने, ‘पैसा आफूले जम्मा गरेर राखेको छु, दिन्छु ।’ इन्चार्जले विलमा सही गर्न नचाहेकाले पैसा बुझाउन नसकेको उनले बताए ।  
 
राज्यको खातामा जम्मा हुनुपर्ने राजस्व व्यक्तिको खल्तीमा थुप्रिँदा पनि प्रशासन अझै मौन छ । ‘यहाँको प्रशासनको एउटा सवारी चालकलाई कारबाही गर्ने हिम्मत छैन, एक कर्मचारीले भने, ‘अस्पताल सुधारका ठूला कुरा गर्नु बेकार छ ।’ क्यान्सर अस्पतालको एम्बुलेन्सले यहाँकै बिरामी ओसार्न प्राथमिकता दिनुपर्ने हो, तर एम्बुलेन्स भने अस्पताल बाहिरको बिरामी बोक्न व्यस्त देखिन्छ । 
 
जम्मा ५० हजार जति खर्च गरे बन्ने बा ३ च ६२१४ नम्बरको शववाहन पनि ५ वर्षदेखि थन्किएको छ । ‘गियर बक्समा समस्या छ, इन्चार्ज लामिछानेले भने, ‘तर ५ वर्षदेखि शववाहन बन्न सकेको छैन ।’ वाहन थन्किदाँ अहिले बढी खर्च आउने समस्या थपिएका छन् । जसले गर्दा भएको गाडी प्रयोगमा छैन भने आर्थिक भार थपिएको छ । 
 
अस्पतालको अर्को एम्बुलेन्स बा ३ च ३९१६ नम्बरको रहेको छ । यो एम्बुलेन्स हाल सामान्य खराबी हुँदा पनि हप्तौदेखि नारायणगढमा रहेको एक ग्यारेजमा थन्किरहेको छ । यस एम्बुलेन्स चालक उमेरका हिसावले बूढो भएकाले पनि सञ्चालनमा समस्या आएको कर्मचारीहरु बताउँछन् । 
 
क्यान्सर अस्पतालमा सेवा लिन आउने बिरामीको लागि उक्त एम्बुलेन्सहरुको व्यवस्था गरे पनि सम्बन्धित निकाय जिम्मेवार नहुँदा बिग्रने, अनियमित हिसावले सञ्चालन हुने गरेको अस्पतालका प्रशासकीय अधिकृत गृहनारायण महतोले बताए । अस्पतालको एम्बुलेन्स बिग्रने र अन्यत्र जथाभावी रुपमा सञ्चालन हुने गरेका कारण बिरामी भने फरक संस्थाका एम्बुलेन्स बोलाएर आवातजावत गर्न बाध्य छन् ।