काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको हल्लामा सत्यता नभएको बताएका छन् । संसदमा संवोधन गर्दै बिहीबार प्रधानमन्त्री ओलीले संसदमै बसेर संसदीय अभ्यास गर्ने बताए । उनले भने, ‘तर्किने उम्केर हिँड्ने काम हुँदैन । संसदले जतिबेला जरुरी छैन भन्छ, म छोडिदिन्छु । संसदले छोड नभनेसम्म छोड्दिनँ ।’
संवोधनको क्रममा प्रधानमन्त्री ओलीले आफ्नो पार्टी सहमतिको सरकारको पक्षमा रहेको बताए । भने, ‘सहमतिको सरकार बनाऔँ भन्दा मेरो घाँटी सुक्यो । लोकतान्त्रिक विधिले संसदीय अभ्यासभन्दा बढी कुरा संविधान कार्यान्वयन हो, जनताको अपेक्षा पूरा गर्ने कुरा हो । पुनर्निमाण ठूलो कुरा हो । त्यसका लागि सहमति आवश्यक छ ।’
प्रधानमन्त्री ओलीले उखान टुक्काले देश चल्दैन भन्दै आलोचना भएकोप्रति आपत्ति जनाए । ओलीले भने, ‘मलाई प्रश्न गरियो, उखान टुक्काले देश चल्छ ? भन्नेलाई म उल्टै प्रश्न गर्छु, विशाखा पटनम सम्झौता र चीनसँगको पारवहन सम्झौता उखान टुक्का हो ?’
प्रधानमन्त्री ओलीले कुनै पनि छिमेकीविरुद्ध नरहेको प्रष्ट पारे । ‘हामी कुनै पनि छिमेकीहरुविरुद्ध थिएनौँ, छैनाँै र हुन सक्दैनौँ । भारतको सेखी झार्न चीनसँग सम्झौता गर्यो भन्नेहरुलाई कठैबरी भन्दा केही हुन्न,’ ओलीले भने, ‘भारतसँगको सम्बन्धमा सुधार आएको छ । असमझदारीहरु पूर्णरुपमा हटेका छन् । भारतसँग भएका महत्वपूर्ण सम्झौताबारे जनता जगजाहेर छन् ।’ ओलीले चीन भ्रमणमा नेपालको हित र विकासमा योगदान पुग्ने काम भएको समेत बताए । उनले भने, ‘पारस्परिक लाभ र सम्मानका आधारमा अहस्तक्षेपकारी मान्यतालाई स्थापित गर्दै छिमेकीसँग सम्बन्ध राख्छौं ।’
दुई वर्षमा लोडसेडिङ समाप्त
प्रधानमन्त्री ओलीले एक वर्षमा लोडसेडिङ आधारभूत रुपमा समाप्त पारेर दुई वर्षमा गरेरै देखाउने बताए । ‘एक वर्षभित्र लोडसेडिङ आधारभूतरुपमा समाप्त पार्छु । दुई वर्षमा लोडसेडिङको अन्य गर्छु भनेको हुँ, गरेर देखाउँछु ।’ ओलीले यस अघि प्रस्तुत गरेका महत्वकाक्र्षी योजना बिहीबारको सम्बोधन समेटेर व्यक्त गरे । ‘काठमाडौं, पोखरा र लुम्बिनीसम्म रेल कुदाउँछु भन्दा मान्छेलाई छटपटी होला तर म बनाएर देखाउँछु,’ उनले भने, ‘गुडिया रेल बजारबाट किनेर ल्याएर कुदाउने हो ? कुरा भयो काम भएन भन्नेहरुलाई रेल कुदाएर देखाउँछु ।’
ओलीले अबका सन्ततीले रेल हेर्न भारत जानु नपर्ने बताउँदै भने, ‘ म रेल हेर्न गलगलिया गएको थिएँ, हाम्रा सन्तान रेल हेर्न भारत जाँदैनन्, यहीँ चढ्छन् ।’ ओलीले एक वर्षमा तुइन नहटे चुडाँउने बताए । ‘एक वर्षभित्र तुइनलाई बिदा गर्छु भनेको हुँ, त्यो म गरेर देखाउँछु, सबै तुइन चुडाउँछु,’ उनले ग्यास चुह्लामा पाइपबाट बाल्ने भन्दै भने, ‘चुह्ला चुह्लामा ग्यास पुर्याउँछु भनेको हुँ । यस्तो बोल्न पाइन्छ भनेर उडाए । यो सपना होइन, यथार्थ हो ।’
ओलीले चुह्लोमा पाइपमा ग्यास पु¥याउनु हुँदैन भनेर संविधानमा नलेखिएको बताउदै भने, ‘बंगलादेशमा र पाकिस्तानमा ग्यास चुह्लोमा पुग्दा काठमाडौंमा चुह्लोमा ग्यास पु¥याउनु हुँदैन भनेर संविधानमा लेखिएको छैन ।’
सहमतिको सरकार भन्दाभन्दै घाँटी सुक्यो
ओलीले सरकार विघटनको चर्चा भएको भन्दै संसदले बनाएको सरकार संसदबाटै विघटन हुने बताए । उनले राष्ट्रिय सहमतिका लागि एमाले बाधक नभएको समेत प्रष्ट पारे । ‘म पदलोलुप भएर बसेको छैन । सरकार संसदले बनाएको हो । संसदमै टुंगिन्छ,’ उनले भने, ‘राष्ट्रिय सहमति गरेर देशलाई अघि बढाउन म र मेरो पार्टी बाधक छैन ।’
ओलीले षड्यन्त्र र धोकाबाट राष्ट्रिय सहमति नबन्ने बताए । प्रमुख प्रतिपक्षी दल र सत्तारुढ दलले गरेको षडयन्त्र तर्फ इंगित गर्दै ओलीले भने, ‘षड्यन्त्र र धोकाको जगमा राष्ट्रिय सहमति उम्रिँदैन र उठ्दैन । देशलाई उठाउने हो भने इमानदारीताको जगमा राष्ट्रिय सहमति गर्नुपर्छ ।’
ओलीले संविधानसभाका कामै नगरी सकिएको भन्नु गलत भएको भन्दै संविधानसभाले संविधानका धारा–धारामा छलफल गरेर संविधान ल्याएको प्रष्ट पारे । उनले भने, ‘एउटा संविधान सभा कामै नगरी सकियो । दोस्रो संविधान सभाले एक वर्षमा संविधान दिन्छौं भनेका थिए तर एक वर्ष आठ महिना आयो । संविधानका धारा धारामा छलफल भएर । विभिन्न समूहमा छलफल गरी संविधान आएको हो ।’
प्रतिक्रिया