मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

‘प्रेस स्वतन्त्रतामाथि अंकुश लाग्दैन’

‘प्रेस स्वतन्त्रतामाथि अंकुश लाग्दैन’


चितवन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेस स्वतन्त्रतालाई कसैले पनि अंकुश या बन्देज लगाउन नसक्ने बताएकी छन् । ‘निर्वाध प्रेस स्वतन्त्रतामा कही कतैबाट अंकुश र बन्देज लगाउने कल्पनासम्म पनि कसैले गर्न सक्दैन’ नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभामा राष्ट्रपति भण्डारीले भनिन्, ‘पत्रकारहरुले पनि स्वयम्ले बनाएको आचारसंहिता पालना गर्दा नै प्रेसको मर्यादा स्थापित हुन सक्छ ।’
 
व्यक्तिगत गोपनियताको हनन् नहोस् भन्ने कुरामा प्रेस सधैँ सजग रहनुपर्ने उनले बताइन् । ‘स्वतन्त्र प्रेसबाट पनि व्यक्तिको व्यक्तिगत स्वतन्त्रता र व्यक्तिगत गोपनियताको हनन् नहोस् भन्ने कुरामा प्रेस सधैँ सजग रहनुपर्छ’ राष्ट्रपति भण्डारीले भनिन्, ‘प्रेस यसमा सजग नहुने हो भने संगठित र बलियो प्रेस जगतको तुलनामा एउटा व्यक्तिको स्वतन्त्रताको संरक्षण हुन सक्दैन ।’
 
नेपालमा लोकतन्त्र, मानवअधिकार, विधिको शासन र जनताको सुसूचित हुन पाउने अधिकारको स्थापना र जगेर्नाको आन्दोलनमा पत्रकारहरुले खेलेको भूमिका र योगदानको प्रशंसा गर्दै राष्ट्रपति भण्डारीले गतवर्ष जारी भएको नेपालको संविधानले व्यवस्था गरेको प्रेस स्वतन्त्रताको अधिकार सञ्चार जगतको उन्नति र प्रगतिका निम्ति महत्वपूर्ण रहेको बताइन् ।
 
राज्यको कमीकमजोरी औंल्याउँदा राज्य वा सरकार निरंकुश बन्न सक्ने सम्भावना भएकाले लोकतन्त्रमा देशको मूल कानुनको रुपमा रहेको संविधानमा प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गरिएको उनले बताइन् ।
 
श्रमजीवी पत्रकारहरुको पारिश्रमिक र सुविधाको यथोचित व्यवस्थाप्रति सरकार र सञ्चारगृह सकरात्मक रहनुपर्ने बताउँदै राष्ट्रपति भण्डारीले सञ्चारकर्मीहरुले पनि देशको अखण्डता, सार्वभौमिकता, राष्ट्रिय एकता र स्वाभिमान संरक्षणका साथै धार्मिक सांस्कृतिक र जातीय सद्भावको लागि सधैँ सजग र सचेत बन्नुपर्ने बताइन् ।
 
यस्तै, कार्यक्रममा सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका उद्योगमन्त्री सोमप्रसाद पाण्डेले नेपालको नयाँ संविधान प्रेसमैत्री भएर आएको बताए । अब देशमा कुनै पनि क्रान्ति गर्न वा लडाइँ लड्न आवश्यक नरहेको भन्दै मन्त्री पाण्डेले आर्थिक समृद्धि नै मुलुकको अहिलेको आवश्यकता रहेको बताए ।
 
मन्त्री पाण्डेले भने, ‘अब देशमा कुनै क्रान्तिको आवश्यकता छ भने त्यो आर्थिक क्रान्तिको आवश्यकता हो । त्यसकारण हामी जो–जो जहाँ–जहाँ छौँ, अन्त्यन्तै दृढ संकल्पित भएर सकारात्मक सोचका साथ अगाडि बढ्न जरुरी छ ।’
 
मन्त्री पाण्डेले पारिश्रमिक निर्धारण समितिले तोकेको श्रमजीवी पत्रकारको न्यूनतम तलब सरकारले मात्रै कार्यान्वयन गर्न नसक्ने भन्दै यसमा सञ्चारगृह पनि गम्भीर हुनुपर्ने बताए ।
 
उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा। महेन्द्र विष्टले यस साधारण सभामा पत्रकारको वर्तमान अवस्था र भविष्यको विषयमा गहन छलफल हुने बताए । पत्रकार महासंघ चितवनका अध्यक्ष हरि पोखरेलले स्वागत मन्तव्य राख्दै चितवनमा महासंघको साधारण सभा हुनु गौरवको कुरा भएको बताए ।