चितवन । व्यवस्थापिका संसदका सभामुख ओनसरी घर्तीमगरले नेपालमा जारी संविधानमा आधारभूत कुराहरु आएको भए पनि संविधानको पूर्णताको लागि आगामी दिनमा यसको संशोधन गर्न सकिने बताएकी छन् ।
नेपाल मगर संघको ११ औँ राष्ट्रिय महाधिवेशनलाई संवोधन गर्दै सभामुख घर्तीले संविधान संशोधन गर्न मिल्ने र नमिल्ने दुई प्रकारको संविधानमध्ये नेपालको संविधान संशोधन गर्न मिल्ने भएको बताइन् ।
‘नेपालको सार्वभौमिकतामा आँच आउने प्रश्नहरुमा संविधान संशोधन गर्न सकिदैन’ सभामुख घर्तिले भनिन्, ‘नेपाली जनताको दैनिक जनजीवनसँग सम्बन्धित अन्य सम्पूर्ण धाराहरु भने परिवर्तनशील छन् ।
संविधानले जारी गरेका प्रावधानहरुको कार्यान्वयन गर्दै संविधानका अपूर्णताहरुलाई संशोधन गर्दै लानुपर्छ ।’ संविधानमा व्यवस्था गरिएका कुराहरु अवैज्ञानिक, अपूर्ण र अव्यवहारिक रहेको खण्डमा संशोधन गर्न सकिने उनले बताइन् ।
निकै लामो समयको पर्खाइ, आन्दोलन र लडाइँपछि नेपाली जनताले छानेको आफ्नो प्रतिनिधिमार्फत संविधान जारी भएको भन्दै सभामुख घर्तीले एक जाति, एक भाषा, एक धर्मले चलाउने राज्य प्रणालीको पनि अन्त्य भएको बताइन् ।
नेपाल बहुजाति, बहुभाषिक, बहुधार्मिक बहुसांस्कृतिक तथा भौगोलिक रुपमा विविधता रहेको राष्ट्र भएकाले एक जाति, एक भाषा, एक धर्मको वर्चस्व भएमा देशको विकास नहुने उनको भनाइ छ ।
प्रतिक्रिया