नेपाल

सबैको श्रम अधिकार सुनिश्चित होस् : राष्ट्रपति

सबैको श्रम अधिकार सुनिश्चित होस् : राष्ट्रपति


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्र्रािष्ट्रय मजदुर दिवसका अवसरमा आइतबार विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवम् सबैको श्रम अधिकार सुनिश्चितताको कामना गरेकी छन् । 
 
उनले सबै नेपाली श्रमिक एवम् मजदुरले स्वदेश तथा विदेशमा आफ्नो श्रम गर्दा उचित श्रम अभ्यास, अनकूल कार्य–वातावरण, न्यायोचित कार्य–घन्टा एवम् पारिश्रमिक, सामाजिक सुरक्षालगायत सबै श्रम अधिकार सुनिश्चित भई उपयुक्त औद्योगिक सम्बन्ध स्थपित हुन सकोस् भन्ने कामना गरेकी छन् । यस दिन सबै नेपाली श्रमिक तथा मजदुरले सबै अधिकारको पूर्ण र सार्थक रुपमा प्रयोग गर्न सकून् भन्ने शुभकामना पनि उनले व्यक्त गरेकी छन् । 
 
उत्पादनका लागि सङ्घर्ष गर्न जोड 
 
यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका सबै नेपाली श्रमिक दिदीबहिनी तथा दाजुभाइमा शुभकामना तथा बधाई दिँदै यस दिवसले नेपाली श्रमिकको हक र हित सुनिश्चित गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । 
 
सन्देशमा भनिएको छ– ‘यस पटकको मे दिवस हामी नेपालीका लागि विशेष महत्व राख्छ । गत वर्षको वैशाखमा आएको भूकम्पले पु¥याएको क्षतिपछिको अवस्था र असोज ३ गते जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएपछिको अवस्था हाम्रा लागि विशेष अवस्था हुन्, सामान्य समयमा जस्तो मे दिवसमा श्रमिकका लागि आठ आठ घन्टा काम–आराम र मनोरञ्जन भनेर मात्रै पुग्दैन, भूकम्पछिको पुनःनिर्माण र संविधान कार्यान्वयनसमेत यसको कार्यसूचीमा पर्नुपर्छ, ।
 
मे दिवस मनाइरहँदा नेपाली श्रमिकले भूकम्पले पु¥याएको क्षतिपछिको पुनःनिर्माणमा आफ्नो उत्साहजनक सहभागिता र संविधानले संस्थागत गरेको नेपाली श्रमिकको हक–हितको व्यवहारमा पूर्ण रुपमा कार्यान्वयनलाई दुई महत्वपूर्ण दायित्वका रुपमा लिनुपर्छ भन्ने मलाई लागेको छ ।’ 
 
उनले सरकारले अहिले राष्ट्रिय पुनःनिर्माणको महाअभियान सञ्चालन गरिरहेको र भूकम्पले क्षतविक्षत भएका आठ लाखभन्दा बढी निजी आवासको निर्माणमा सहयोग पु¥याउन काम अगाडि बढाइरहेको जानकारी दिए । 
 
झन्डै ४० लाख नेपाली श्रमिक विश्वका विभिन्न मुलुकमा श्रम बेचिरहेका कारण मुलुकमा भने श्रम अभाव देखिँदैछ, बर्खायामअघि नै सबै नेपालीलाई छानामुनि ल्याइसक्नुपर्नेछ, निजी आवासका अतिरिक्त सार्वजनिक संरचना पुनःनिर्माणको यस अभियानसँगै मुलुकलाई आर्थिक विकास र समृद्धिको बाटामा अगाडि बढाउनु पर्दछ, कामका लागि बिदेसिने वा प्रवासमा कार्यरत नेपाली श्रमिकलाई स्वदेशमा निर्माण अभियानमा संलग्न गराउन सके तत्कालको श्रम अभावको समस्या हल हुनसक्छ –सन्देशमा भनिएको छ । 
 
‘म बनाउँछु मेरो देश’ भन्ने सङ्कल्पका साथ सबै नेपाली श्रमिकलाई पुनःनिर्माण र नवनिर्माणको अभियानमा सहभागी हुन उनले आह्वान गरेका छन् । मुलुकको आर्थिक विकास र समृद्धिका लागि पुँजी निर्माण र विकासका लागि श्रमशक्तिको विकास आवश्यक रहेको र श्रमशक्तिको विकास संविधानको कार्यान्वयनबाट मात्रै सम्भव रहेको बताउँदै उनले आधारभूत रुपमा अधिकार संस्थागत भई समृद्धिका दिशामा अघि बढ्दै हाम्रो जस्तो मुलुकमा अब वर्गसङ्घर्ष प्रमुख होइन, उत्पादनका लागि गरिने सङ्घर्ष प्रमुख हो नेपाली समाजको परिवर्तन श्रमशक्तिको विकासबाट हुन्छ भेका छन् । रासस
 

शेयर गर्नुहोस:

0
Shares