मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिका दौडाहामा कांग्रेस नेताहरु

अमेरिका दौडाहामा कांग्रेस नेताहरु


हिमालय खबर संबाददाता- 
टेक्सस (अमेरिका)। नेपाली कांग्रेसका नेताहरु धमाधम अमेरिका आउने क्रम सुरु भएको छ । यतिखेर नेपालको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालादेखि लिएर सभापतिमा पराजित उम्मेदवार रामचन्द्र पौडेल समेत अमेरिकामा हुनुहुन्छ ।
 
नेताहरुको दौडाहाले गर्दा नेपाली कांग्रेसको भातृ संस्था नेपाली जनसम्पर्क समितिका पदाधिकारी र शूभचिन्तकहरुलाई यतिखेर भ्याईनभ्याई छ । मुलुकमा राजनीतिक शून्यताको अवस्थामा कांग्रेसका वरिष्ठ नेताहरु अमेरिका आइपुगेका हुन् । गत साता न्यूयोर्कबाट अमेरिकी भूमिमा पाइला टेकेका महामन्त्री कोइराला यतिखेर पश्चिम तटीय शहर लसएन्जलस पुग्नुभएको छ । कोइरालाले न्यूयोर्क, भर्जिनिया, ड्यालस र लसएन्जलसमा नेपाली जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागिता जनाउनुभएको छ ।  
 
कोइरालाले सानफ्रान्सिस्को र सिकागोमा हुने कार्यक्रममा पनि सहभागिता जनाउनुहुने भएको छ । छोरीलाई भेट्न अमेरिका आएका कोइराला पारिवारिक भेटघाटभन्दा पनि बढ्ता राजनीतिमा केन्द्रीत भएको छ । उता कांग्रेस सभापतिमा पराजित उम्मेदवार एवं वरिष्ठ नेता रामचन्द्र पौडेल पनि चुनावमा पराजित भएको तनाव मेट्न अमेरिका आइपुग्नुभएको छ । पार्टी संसदीय दलको नेतामा समेत शेरबहादुर देउवासँग पराजित भएपछि पौडेल निकै तनावमा हुनुहुन्थ्यो । यही तनावलाई मत्थर गर्न फ्लोरिडामा रहेकी छोरीलाई भेट्ने निहुँमा उहाँ अमेरिका आइपुग्नुभएको हो । 
 
पौडेल पनि केही राजनीतिक कार्यक्रममा सहभागी हुनुहुनेछ । उहाँ निकटस्थहरुका अनुसार केही राज्यहरुमा जनसम्पर्क समितिले आयोजना गर्ने कार्यक्रममा सहभागिता जनाउनुहुनेछ । पछिल्लो समयमा नेपालका नेताहरुको अमेरिकामा निकै चहलपहल बढेको छ । एक साता अघि कांग्रेस सांसद तथा केन्द्रीय सदस्य बहादुरसिंह लामा अमेरिका भ्रमणमा थिए । अर्को महिना एटलान्टामा हुने एएनएको कार्यक्रममा सहभागी हुन कांग्रेसका युवा नेता गगन थापा र एमालेका रबिन्द्र अधिकारी आउनुहुने भएको छ ।