चितवन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले संविधान कार्यान्वयनका लागि ठूलो दल नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्नु पर्ने बताएका छन् । अबको सरकारको नेतृत्व नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने पनि उनले बताए ।
प्रेस युनियन चितवनले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्रिय सहमतिको सरकार बनेर त्यसको नेतृत्व काँग्रेसले गर्नुपर्ने बताए ।
प्राकृतिक न्यायको सिद्धान्तलाई हेर्दा ठूलो पार्टीले सरकारको नेतृत्व गर्नुपर्ने भन्दै उनले काँग्रेसको नेतृत्वमा बनेको संविधान कार्यान्वयनका लागि सबै दललाई एक ठाउँमा उभ्याउने काम पनि काँग्रेसले गर्नुपर्ने बताए ।
अहिलेको सरकारले मुलुकलाई निकास दिन नसक्ने भन्दै उनले मार्गप्रशस्त गर्न पनि सरकारलाई आग्रह गरे । संविधान कार्यान्वयन र विकासका लागि दलहरुबीच प्राकृतिक गठबन्धन हुनुपर्छ त्यो अहिले हुनसकेको छैन खाँडले भने ।
सरकारले भूकम्प प्रभावितलाई राहत दिन नसकेको, नाकाबन्दीको असर हटाउन नसकेको भन्दै नेता खाँडले सरकारी नियुक्तिमात्र सरकारको काम नभएको बताए ।
प्रतिक्रिया