मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

‘क्याराभान’का थिन्लेको अन्त्येष्टि

‘क्याराभान’का थिन्लेको अन्त्येष्टि


काठमाडौँ । जौ लहलाउँदो गरी पाकेको लोभलाग्दो डोल्पामा चौरीको लस्कर ह्वारह्वार्ती धूलो उडाउँदै गाउँ छिर्छ । दौडादौड गरेर गाउँलेहरु स्वागत गर्न पुग्छन् । सुन्दर यो भूगोलको रमाइलो दृश्यमा चिच्याइरहेका मानिसहरु एक्कासी निःशब्द हुन पुग्छन् । लर्को लागेर अपर डोल्पा पुग्दा जोख्योको ढाडमा नुनको धोक्रासँगै एकजनाको शव पनि हुन्छ ।
 
जोखिम बाटोबाट यात्रा गर्दा लाक्पाले ज्यान गुमाएका हुन्छन् । घन्टौँ लगाएर भीरबाट लाक्पालाई झिकेका हुन्छन्, नुन ओसार्न गएकाहरुले । नुनको खेपसँगै थिन्लेको छोरोको शव गाउँ भित्रिन्छ–धुलो उडाउँदै ।
 
छोरोले ज्यान गुमाउँदा पनि थिन्लेले धैर्यता छोड्दैन । उसको छोराको शव लामा परम्पराअनुसार पूजामा बसाइन्छ र अन्तिममा उनको शव टुक्राटुक्रा पारेर गिद्धलाई खुवाइन्छ । एरिक भ्याली निर्देशित फिल्म हिमालय क्याराभानको यो दृश्यले थिन्लेका छोरा लाक्पाको मृत्युकर्म र उनकी पत्नीको वेदनालाई उजागर गर्छ । सुरुवातकै यो प्लटले फिल्मलाई डो‍¥याउँदै कथा बुन्न थाल्छ ।
 
तर, यहाँ बुन्न लागिएको कथा अर्कै हो । र, यो कथामा थिन्लेको छोरा होइन, थिन्लेकै मृत्यु हुन्छ । फिल्ममा थिन्लेका छोरा लडेर मरेका छन् । यो कथामा पनि थिन्लेको मृत्युको कारण लड्नु नै हुन्छ । फिल्म यथार्थमा आधारित कथा थियो भने, यो कथा सत्य हो । अर्थात् साँच्चै थिन्लेको मृत्यु भएको छ । शुक्रबार उनको अन्त्येष्टि भएको छ ।
 
जन्मैदेखिको कथा
 
थिन्ले लोन्डुपको जन्म विसं २००१ सालमा डोल्पाको सलाङ गाविसको धावामा भएको हो । आमा बुबाका कान्छा छोरा उनी सानैबाट चौरीको पछिपछि कुँद्थे, घोडा चडेरै हुर्किए । तर सँगैका साथी चौरी चराएरमात्र बस्दा थिन्लेको दैनिकी त्यतिमै सीमित भएन ।
 
चौरी चराउन हिँड्नै पर्ने बाध्यता र शैक्षिक वातावरणको समस्याबीच पनि उनले पढे । अहिले पनि डोल्पामा पढ्न सजिलो छैन । न राम्रो विद्यालय छ, न शिक्षक नै । न किताब कापी छन्, न पढ्ने वातावरण नै । त्यो समयमा पनि उनको पढ्ने इच्छाशक्तिका कारण उनका बुबाआमाले उनलाई भोट लिपीमा पढ्न पठाए । उनी साथीहरुको बीचमा गाउँमा अरुभन्दा जान्ने भए । बुझ्ने भए । हुलमा सबैभन्दा बढी भारी बोक्ने खच्चडले अलि बढी खाना पाएजस्तै नपढेकाहरुको बीचमा पढेका थिन्लेबाट सबैले अलि बढी आशा राखे ।
 
उनले परिवारसँगै गाउँलेको आशामा तुसारापात हुन दिएनन् । बाटो नभए पनि, खानेपानीको लागि घण्टौँ हिँड्न परे पनि, पढ्नका लागि विद्यालय नभए पनि, बत्ती नहुँदा पनि, सदरमुकाम आउने जाने बाटो दोहोरो नभए पनि गाउँलेहरुको केही गुनासो नै थिएन । उनीहरु खुसी थिए । किनकि उनीहरुले डोल्पाबाहेक केही देख्ने मौकै पाएका थिएनन् ।
 
चेतनाको बत्ती बल्दा
 
डोल्पाको अवस्था बुझ्दै जाँदा आफू र आफ्नो गाउँ निकै पछाडि परेको भान भयो उनलाई । परिवर्तन गर्नकै लागि भनेर २०४० सालबाट उनी राजनीतिमा लागे । २०४५ सालमा पहिलोपटक वडा अध्यक्ष भए । क्षेत्रीय अध्यक्षको समेत भूमिका निभाएका उनले राजनीतिमा सक्रिय भएर सालाङ गाविसका लागि सकेको गरे ।
 
‘सलाङमा खानेपानीको अभाव यस्तो थियो कि, पानी लिन मुहानमा पुग्दा नपुग्दै तिर्खाले सताउँथ्यो,’ अन्तिम संस्कारका लागि थिन्लेको काठमाडौँस्थित घरमा आएका डोल्पो समाजका प्रबन्धक पेमा वाङछेङले भने, ’थिन्ले र उनको समूहको प्रयासपछि गाउँमा खानेपानीको समस्या हट्यो ।’
 
थिन्लेको योगदान खानेपानीका लागि मात्र नभएर सिंचाईको लागि पनि उत्तिकै थियो । थिन्लेको सोच सधँै आफूभन्दा माथि थियो । किनकि उनी भगवान्मा आस्था राख्थे र अरुका लागि गरेको कर्मको फल देउताले नै दिने कुरामा विश्वास गर्थे । त्यसैले उनले सधैँ आफ्नो लागि मात्र नभएर सबैको लागि सोचे ।
 
विश्वभर चर्चित बने
 
डब्लुडब्लुएफमा आवद्ध भएर काम सुरू गरेका उनले आफ्नो व्यक्तिगत खाता बलियो हुने गरी कामको झारो टार्न सक्थे होलान् । तर त्यसो गर्न उनको धर्मले दिएन । उनको लागि पैसाभन्दा माथि डोल्पालीको आशा थियो । त्यो आशा भन्दामाथि उनको भगवान् ।
 
थिन्लेले डब्लुडब्लुएफसँग मिलेर सलाङ ५ र ६ मा सोलारको पनि व्यवस्था गरे । ‘सलाङका डोल्पालीको अनुहार खुसीले बलेको थियो रे,’ वाङछेङले सुनाए । डोल्पाका लागि सकेको गरेका उनी वास्तवमा डोल्पाकै पर्यायवाची बने फिल्ममार्फत् । हिमालय क्याराभानमार्फत् डोल्पाको संस्कृति र परम्परा विश्वभरि चर्चित बन्यो । र, यो फिल्मका केन्द्रमा रहे थिन्ले ।
 
उनी हिरो रहेको फिल्म अस्कर अवार्डमा समेत मनोनीत भएर विश्व प्रसिद्ध भएपछि उनको नाममा ‘थिन्ले फाउन्डेसन’ नै खुल्यो । त्यसपछि उनले डोल्पालाई अर्को खुसी दिए– हिमालय क्याराभान नामक संस्थामा उनले डोल्पाका अनाथ, असहाय नानीहरु ल्याएर निःशुल्क बस्ने, खाने र पढ्ने वातावरण बनाए । संस्थामा अहिले पनि १५ भन्दा बढीले आश्रय पाएका छन् ।
 
सरकारका लागि आज पनि डोल्पा निकै पर छ । डोल्पाका विद्यार्थीले किताब पाएका छैनन् । डोल्पाली अझै पनि घाउ खटिरामा मल्हमको सट्टा जडिबुटी घस्न बाध्य छन् । आकाशमा हवाइजहाज उडेको देखे पनि धेरै डोल्पालीले गाडीसम्म चढ्न पाएका छैनन् । भलै डोल्पाको प्रायः समस्याले समाधानको उपाय पाएको छैन ।
 
क्याराभानको सक्कली दृश्य :
 
यसपाला हिउँ कम परेकाले गाउँ जान खासै गाह्रो नहोला भनेर एक्लो यात्रा तय गरेका थिए थिन्लेले । बाटोमा पो एक्लो हुन्छु (सलाङमा त मेरा गाउँले छन्, परिवार छन् भन्ने भएको थियो उनलाई । तर उनले सदाको लागि एक्लो यात्रा तय गरिरहेका रहेछन् ।
 
वैशाख १२ गते डोल्पाको सदरमुकाम दुनैबाट घरतर्फ लागेका उनी त्यहाँबाट ३ घन्टामाथि फोक्सुण्डो गाविसको छेक्पामा पुगेका थिए । उक्लिँदै गरेका उनलाई माथिबाट झर्दै गरेका खच्चडको बथानले घे‍¥यो । साँघुरो बाटोमा दोहोरो आवतजावत पक्कै सजिलो थिएन । खच्चडलाई बाटो छोड्न छेउ लागेका उनलाई अन्तिमको खच्चडले हान्यो र उनी भीरबाट झरे ।
 
फिल्मको दृश्य :
 
उनको पछाडि एउटा ट्रेकिङ टोली थियो । त्यो टोली समयमा नै आइपुगेन् । करिब २ बजे भीरबाट लडेका उनको साँझ ५ बजे निधन भयो ।
 
क्याराभानमा उनको छोरा लाक्पाको भीरबाट खसेर मृत्यु हुन्छ । थिन्ले त्यही बाटोको शिकार भए । सिनेमाले जीवनलाई जसरी प्रतिनिधित्व गरेको थियो, ठीक त्यसरी नै थिन्लेको मृत्युले सिनेमालाई जीवन्त बनाएको छ ।
 
जलाउने कि गिद्धलाई खुवाउने?
 
फिल्मको दृश्य-
उपल्लो डोल्पाको क्याराभान फिल्ममा लाक्पाको मृत्यु संस्कार देखाइएको छ । उनलाई पूजापाठपछि टुक्राटुक्रा पारिन्छ र गिद्धलाई खुवाइन्छ । के थिन्लेको शरीरको पनि यसैगरी संस्कार हुने हो ? सबैलाई लागेको जिज्ञासा ।
 
अकाल मृत्यु भएका कारण थिन्लेको शरीर काटिएको छ । गिद्धलाई खुवाउने प्रयोजनका लागि होइन– पोस्टमार्टमका लागि । शरीर निर्जीव भएपछि कुनै सजीवको आहार बन्नु धर्मको विषय पनि हो उपल्लो डोल्पामा । थिन्लेको शरीर भने चितामा जलाइएको छ ।
 
आज शुक्रबार टेकुमा उनको शव चितामा राखेर बौद्ध परम्पराअनुसार संस्कार अन्त्येष्टि गरिएको छ ।
 
डोल्पा खुसी थियो थिन्ले लोन्डुप पाएकोमा । त्यत्तिकै दुःखी छन् डोल्पाली उनलाई गुमाउँदा । डोल्पालीको मन दुखेको छ रे उनको पार्थिव शरीर गाउँ लानुको सट्टा काठमाडौं ल्याइएकोमा । शरीर काठमाडौँ ल्याउनुको कारण आज पनि त्यहाँ बाटो छैन, गाडी छैन । डोल्पाको यात्रा सहज छैन । थिन्लेको शरीर पनि सलाङ लैजानभन्दा काठमाडौँ ल्याउन सजिलो पर्दथ्यो ।
 
फेरि फिल्मकै दृश्य :
 
क्याराभानमा कठिन यात्राको नेतृत्व गर्दै थिन्लेले आफू कमजोर भएपछि नेतृत्व अरुलाई हस्तान्तरण गर्छन् । र, लामाको काखमा पाठ सुन्दै मृत्यु स्वीकार्छन् ।
 
बौद्ध परम्पराअनुसार उनको शरीरको पूजाअर्चना चार दिनसम्म लगातार गरियो । अन्तिम संस्कार आज गरिएको हो । वैशाख १२ गते निधन भएका थिन्ले ५ दिनको कर्म पूरा गरी आजबाट विलय हुँदैछन् । अनि फिल्ममा झैँ उनको अनुपस्थितिमा पनि क्याराभानहरु लर्को लागिरहन्छन् । निरन्तर र निरन्तर…।  #पहिलो पोष्टबाट