मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दुर्गमको स्कुलमा चालिस लाखको अक्षयकोष

दुर्गमको स्कुलमा चालिस लाखको अक्षयकोष


बागलुङ । जिल्लाको मल्म–७ स्थित प्रगति प्राथमिक विद्यालयमा विभिन्न दाताले ४० लाख रुपैयाँको अक्षयकोष खडा गरेका छन् । 
 
विद्यालयको रजत जयन्तीका अवसरमा देश–विदेशबाट अक्षयकोषमा रकम जम्मा भएको हो । विद्यालयका अभिभावक, शुभेच्छुक लगायतले आफ्ना स्वर्गीय बुबा–आमा र प्रियजनको स्मृतिमा कोष स्थापना गरेका हुन् । त्यस्तो कोष राख्नेमा ७५ जना रहेको विद्यालयले जनाएको छ । 
 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थापाले कबुल गरेअनुसार अक्षयकोष बनेमा बढेर ५८ लाख रुपैयाँ पुग्ने बताए । ‘४० लाख रुपैयाँको त कोष स्थापना भइसकेको छ, विद्यालयको रजतजयन्तीमा आएको प्रतिबद्धताअनुसार रकम प्राप्त भएमा त्यो बढेर रु ५८ लाख पुग्छ’, अध्यक्ष थापाले भने । गाउँमै अङ्ग्रेजी माध्यमबाट पढाउँदै आएको सो विद्यालयको शैक्षिक वातावरण सुधारका लागि स्थानीयवासीले कोष राखेका हुन् । 
 
विद्यार्थी नभएर २०६६ सालमा एकीकरण प्रक्रियामा पुगेको विद्यालयलाई गाउँलेले नै जोगाएर यहाँसम्म ल्याएको अध्यक्ष थापाको भनाइ छ । ‘विद्यालय बन्द हुन लागेको थियो, २०६६ मा १३ जना मात्र विद्यार्थी थिए”, अध्यक्ष थापाले भने, ‘अहिले स्थानीयवासीको पहलमा विद्यालय ‘नमुना’ बन्दै गएको छ, व्यवस्थापन पनि हामी खटेर लागेका छौँ ।’ २०४७ मा स्थापना भएको विद्यालयमा अहिले ८० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । 
 
उनले विद्यालयमा स्थापना भएका अक्षयकोषबाट विद्यालयको भौतिक, शैक्षिक वातावरण निर्माणमा खर्च गरिने बताए । विद्यालयको दिगो व्यवस्थापन र पढाइको गुणस्तर वृद्धिका लागि अक्षयकोष सहयोगी बन्ने विद्यालयका प्रधानाध्यापक नगेन्द्र मल्लले बताए । ‘तलबमा ठूलो रकम खर्च हुने गरेको छ, अक्षयकोषको ब्याजबाट शिक्षक, कर्मचारी व्यवस्थापनदेखि अन्य व्यवस्थापन कार्यमा खर्च हुनेछ’, उनले भने । 
 
अक्षयकोषबाट अन्य रचनात्मक काम पनि गर्ने योजनामा विद्यालय रहेको छ । छिट्टै कम्प्युटर शिक्षालाई पनि सुरुआत गरिने जनाइएको छ । अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु गरेपछि सो विद्यालयप्रति विद्यार्थीको आकर्षण बढेको छ । अभिभावकले पनि विद्यालयप्रति भरोसा राख्न थालेका छन् । १ देखि ५ कक्षासम्म पढाइ हुने उक्त विद्यालयमा दुई जना शिक्षकको मात्र दरबन्दी छ भने बाँकी सातजना शिक्षक स्थानीय स्रोतबाट राखिएका छन् । रासस