नवलपरासी । नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले भारतले केपी शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान सरकार परिवर्तन गर्ने कोसिस सुरु गरेको बताएका छन् । राष्ट्रिय जनमोर्चा गैंडाकोट नगरपालिका इकाइ समितिले बिहीबार नवलपरासीको भेँडाबारीमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सिंहले ओली सरकारले भारतको आग्रहविरुद्ध अडान लिएकै कारण उनलाई हटाउने चलखेल सुरु भएको बताए ।
‘भारत जाँदा ठूलो स्वागत गरे पनि ओली आफ्नो अडानमा कायमै देखिए । भ्रमणपछि संयुक्त विज्ञप्तिसमेत आएन । ईयुसँग मिलेर भारतीय प्रधानमन्त्री मोदीले नेपालको विषयमा संयुक्त विज्ञप्ति निकालेका छन् । यसले देखाउँछ ओलीसँग भारत रिसाएकै छ’ सिंहले भने । सके प्रचण्ड वा नभए देउवालाई प्रधानमन्त्री बनाउने भारतको चाहना रहेको सिंहले बताए ।
‘आफुले चाहेजस्तो संविधान जारी गराउन भारत असफल भएकै हो । तराईमा आन्दोलन उठाएर संशोधनमार्फत नेपाली संविधान आफ्नो अनुकूलको बनाउने भारतीय चाहना छ’ महामन्त्री सिंहले भने । चीन भ्रमणमा भारतले नरुचाएको सहमति ओलीले गरेका कारण पनि थप आक्रोशित भएको उनले बताए । चीनसँगको सम्झौताले नेपालमा दीर्घकालसम्म हित गर्ने तर त्यसका लागि योजनाहरु बनेर कार्यान्वयन हुनु पर्ने सिंहको जोड छ ।
‘भारतले मुख्य गरेर संशोधनमार्फत नेपाली संविधानमा जनसंख्याको आधारमा मात्रै निर्वाचन क्षेत्र निर्धारण होस् भन्ने चाहेको छ । नागरिकता प्रावधान हदैसम्मको खुकुलो होस् भन्ने अर्को स्वार्थ छ । अंगिकृत नागरिकता पाएकाहरुले पनि देशको सर्वोच्च पदमा पुग्नुपर्ने भारतको चाहना छ’ सिंहले भने । संघीयताको सिमांकन पनि आफूहरुले चाहेजसरी हुनुपर्ने भारतको दबाब रहेको सिंहले बताए ।
भारतमा अंग्रेज गएलगत्तै त्यहाँका नेताहरुले नेपाललाई पनि सिक्किम जसरी नै भारतमै बिलाउने सपना देखेको उनले बताए । ‘त्यसैले जसरी हुन्छ विभिन्न आधारहरु तयार गरेर सके सबै नेपाल, नभए तराईसम्म भारतमा गाभ्ने योजनाका लागि निर्वाचन क्षेत्र निर्धारण, नागरिकताका विषय र प्रान्तको सिमानासम्म भारतले चासो दिएको हो’ सिंहले भने ।
संशोधनका लागि दबाब दिन मधेसी दलहरुले आन्दोलन सुरु गरेको र मोदीले तराईको विषयलाई अन्तर्राष्ट्रिय करण गर्न थालेको सिंहले बताए । ‘भारत स्वतन्त्र भएको ६५ वर्षसम्म हामीले यो देशलाई पनि स्वतन्त्र राख्न सक्यौँ । जनतामा भएको राष्ट्रभक्ति भावनाका कारण यो सम्भव भएको हो । आउँदा दिन झनै चुनौतीपूर्ण छन् । त्यसैले देशको अखण्डता बचाउन झनै गम्भीर भएर लाग्नुपर्ने आवश्यकता छ’ सिंहले भने ।
२६ जना राष्ट्रिय जनमोर्चामा प्रवेश
प्रशिक्षण कार्यक्रममा गैंडाकोट नगरपालिका भेडाबारी क्षेत्रका २६ जना व्यक्तिहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । मसालका महामन्त्री सिंहको उपस्थितिमा भएको पार्टी प्रवेश कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला कार्यसमिति सल्लाहकार डिलाराम कँडेल नगर समिति अध्यक्ष कृष्ण सापकोटालगायतले नवप्रवेशीलाई स्वागत गरेका थिए । प्रशिक्षण कार्यक्रममा अष्ट्रेलियाका लागि पूर्व नेपाली राजदूत अजय शर्माले प्रशिक्षण दिएका थिए ।
v








प्रतिक्रिया