मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रधानमन्त्री ओलीलाई तुच्छ अभिव्यक्ति नदिन आग्रह

प्रधानमन्त्री ओलीलाई तुच्छ अभिव्यक्ति नदिन आग्रह


चितवन । मानवअधिकारवादी नेता कष्ण पहाडीले आन्दोलनरत समुदायविरुद्ध अप्रिय र तुच्छ अभिव्यक्ति नदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । 
 
पहाडी संस्थापक सभापति रहेको मानवअधिकार तथा शान्ति समाजले भरतपुरमा आयोजना गरेको ‘स्वाभिमान अभियान’ कार्यक्रममा उनले यस्तो अपिल गरेका हुन् । ‘प्रधानमन्त्री राज्यको अभिभावक हो । उसको बोलीले कसैको घाउ थप बल्झनु हुँदैन’ पहाडीले भने ।
 
उनले आन्दोलन गर्नेहरुले हिंसालाई अपनाउन नहुने र अहिंसात्कम आन्दोलनमा राज्यले बल प्रयोग गर्न नहुने बताए । मागहरु सम्बोधन गर्न राज्य गम्भीर बन्नुपर्ने र त्यसो नभएमा नागरिक समाज जाग्नुपर्ने उनको भनाइ थियो । विविधताले भरिएको समाजमा सबैले सबैको स्वाभिमानको ख्याल राख्नु जरुरी रहेको उनले बताए ।
 
‘समुदाय समुदायबीच सुमधुर सम्बन्ध रहेन भने कुनै पनि तन्त्र टिक्दैन । त्यसैले लोकतन्त्रका लागि समुदायबीचको सौहार्दता मुख्य सर्त हो’ पहाडीले भने, ‘नेपालको संविधान अमेरिका र भारतको भन्दा धेरैको सहभागितामा जारी भएको सुखद पक्षलाई सबैले मनन गर्नुपर्छ ।’ सबै कुरा आजै हुनुपर्छ भन्ने मान्यतामा रहनुभन्दा भएका कुरालाई संस्थागत गर्नु सबैको दायित्व भएको उनले बताए । ‘संविधान अनगिन्ती पटक संशोधन हुन सक्छ ।
 
हामीले चाहेका दुईवटा कुरा पनि यो संविधानमा परेको छैन । अभियान चलाउँदै ती कुरा पनि राख्ने छौँ । तर संविधान सभा पटकपटक गठन हुँदैन । संविधान सभाले संविधान जारी गर्नु तत्कालका लागि महत्वपूर्ण उपलब्धि हो’ पहाडीले भने । संविधानलगत्तै भारतले गरेको नाकाबन्दी भारतकै लागि घाँडो भएको उनले बताए ।
 
‘हरियाणामा जाट समुदायले आन्दोलन गर्दा दिल्लीमा आउने पानी रोके । दिल्लीका मुख्यमन्त्रीले अदालतमा निवेदन दिए । लगत्तै सेना परिचालन गरेर पानीको तहर खुलाइयो । १९ जना मरेका छन् त्यो बेलामा । अनि नेपालमा अधिकार र समानता भएन भनेर उही भारतले नाकाबन्दी गर्न उकास्ने ?’ पहाडीको प्रश्न थियो ।
 
भारतीय सत्ता घाइते बाघका रुपमा बसे पनि तत्काल नाकाबन्दीको रणनीति अपनाउन नसक्ने उनले बताए । देश विभाजनको कुरा अभिव्यक्ति स्वतन्त्रतामा पर्दैन भन्दै राष्ट्र विखण्डनका विषयमा बोल्नेहरुबाट सजग हुन उनले आग्रह गरे ।
 
अभिव्यक्ति स्वतन्त्रका रुपमा अथ्र्याउँदै त्यस्ता कुरा गर्नेहरुलाई केहीले बोक्दै हिँडेकोमा उनले दुःख मनाउ गरे । देशभित्रका जातजातिबीचको एकताले नै लोकतन्त्र मजबुद हुने र आर्थिक उन्नति हुने उनले बताए । ‘तर विविधतालाई जातीय आधारमामात्रै व्याख्या गरेर त्यहीअनुसारका अधिकारका कुरा गर्ने एकथरी छन् । अनि अर्काथरीले यो विविधतालाई नै बोझ ठान्ने गरेका छन् । यी दुई चिन्तनले समस्या ल्याएको हो’ पहाडीले भने ।
 
गत चैत्त विराटनगरबाट सुरु भएको स्वाभिमान अभिायन पूर्वका १३ जिल्लामा सकिएको छ । बुधबार चितवनबाट दोस्रो चरणको अभियान सुरु भएको कोषाध्यक्ष रेणुका पौडेलले बताइन् ।