मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सुत्केरी दिउकलाले नयाँ जीवन पाइन्

सुत्केरी दिउकलाले नयाँ जीवन पाइन्


चितवन । रोल्पा सिउँरीकी दिउकला घर्तीले नयाँ जीवन पाएकी छन् । भरतपुर अस्पतालमा झण्डै २१ दिनको उपचारपछि निको भएर घर फर्किन लागेकी दिउकलालाई गत सोमबार अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।
घर फिर्नुअघि उनले आफूलाई निको भएको भन्दै खुसी प्रकट गरिन् । भनिन्, ‘फेरि नयाँ जीवन पाएँ ।’ सुत्केरी हुने बेलामा निकै जटिलता आएपछि चैत २० गते उनी श्रीमान् निमबहादुर घर्ती र आमाका साथमा भरतपुर अस्पतालमा आएकी थिइन् । तीन साताको लामो उपचारपछि उनी बाँच्न सक्ने भएर रोल्पातर्फ लागिन् ।
चैत ९ गते घरमा नै व्यथा लागेपछि उनी स्थानीय सामुदायिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पुगिन् । उनलाई एक रात त्यही राखियो । तर बच्चा जन्मन सकेन् । त्यसपछि उनलाई रोल्पाकै सुलिचौर हेल्थ पोष्टमा पु¥याइयो । त्यहाँ पनि सम्भव नभएपछि उनी प्युठान जिल्ला अस्पताल बिजुवार गइन् । त्यहाँ चैत ११ गते अप्रेशन गरेर उनको बच्चा निकालियो । बच्चा त निकालियो तर मृत । मृत बच्चा निकालेपछि उनको पाठेघरमा संक्रमण हुन थाल्यो । लगाएको टाँका पाक्न थाल्यो । असैह्य पीडा भयो । त्यहाँका चिकित्सकले देउकलालाई उपचार सम्भव छैन भनिदिए । त्यसपछि उनलाई चैत २० गते लुम्बिनी अञ्चल अस्पताल ल्याइयो ।
लुम्बिनी अञ्चल अस्पतालले दिउकलाको अवस्था नाजुक भएको र घाउको संक्रमण ज्यादै फैलिएको कारणले बचाउन नसक्ने बताए । त्यसपछि उनका परिवारले उनलाई भरतपुर अस्पताल ल्याए ।
चैत २० गते भरतपुर अस्पतालमा बिहान साढे ११ बजे उनीहरु आएका थिए । ‘अस्पताल आउँदा कोठा नै गन्हाउने अवस्था थियो, पाठेघरमा घाउ पुरै पाकेर पीप बगेको अवस्था थियो’, स्त्री तथा प्रसुति रोग विभागकी एक नर्सले बताइन् । देउकला भरतपुर अस्पतालको सफल उपचारपछि घर फिरेकी छन् ।
 
‘जोखिम मोलेर अप्रेशन’ 
बिरामीको अवस्था देख्दा अप्रेशन गर्ने कि नगर्ने दोधारमा थिएँ । घाउँ पुरै पाकेको थियो, सबै चेकजाँच गर्दा पाठेघर नै फाल्नुपर्ने अवस्था देखियो । पाठेघरभरि नै संक्रमण भएर आन्द्रामा समेत त्यसको असर पुगिसकेको थियो । त्यसलाई फिजालय भनिन्छ । टाँका फुस्किएर आन्द्राहरु नै बाहिर निस्कने अवस्था थियो । साथै ज्वरो पनि १०२/१०३ सम्म आएको थियो ।
जतिसुकै एन्टिबायोटिक दिए पनि ज्वरो घटेन । रगत पनि निकै कम थियो । परिवारसँग सल्लाह ग¥यौं । भन्यौ, ‘अब उनको पाठेघर निकालेर फाल्नुपर्दछ अन्यथा उनीलाई बचाउन सकिदैन् ।’ परिवारको सल्लाहमा ज्वरोकै बीच पनि अप्रेशन गर्ने निर्णय भयो । दुई पोका रगत हालेर निकै जोमिखपूर्ण अप्रेशन भयो । रगतमा समेत किटाणुहरु फैलिन थालेका थिए ।
अप्रेशन गर्दा पाठेघर नै पूरै संक्रमण भएर कुहिने अवस्थामा पुगेको थियो । त्यसलाई निकालेर फालियो र सबै वासआउट गरियो । अप्रेशन सफल पनि भयो । अप्रेशनपछि तीन दिन आईसीयुमा राखियो । धेरै लामो समयसम्म व्यथा लागेको र पानीको मात्रा कम हुँदै गएकोले बच्चाको मृत्यु भएको हुनुपर्दछ । लामो समयसम्म व्यथा लाग्नु र अप्रेशन गर्दा पसेको संक्रमणका कारणले पाठेघर कुहिएको हुनुपर्दछ । केही दिन ढिला अस्पतालमा आएको भए उनीलाई बचाउन सम्भव थिएन ।
 
उपचारमा ७० हजार खर्च :
 
दिउकलाको उपचारमा अस्पताल बसेर झण्डै ७० हजार खर्च भएको बताए । भरतपुर अस्पतालले अस्पतालमा भएका औषधि र अप्रेशन निःशुल्क गरेको बताएको छ ।