मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

क्यान्सर अस्पतालमा हाजिर, निजी अस्पतालमा काम

क्यान्सर अस्पतालमा हाजिर, निजी अस्पतालमा काम


चितवन । क्यान्सर अस्पताल भरतपुरमा रेडियोलोजी विभागका दुई कर्मचारीलाई अस्पतालको समयमै निजी अस्पतालमा काम गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको छ । क्यान्सर अस्पताल भरतपुरका रेडियोलोजी विभागका जुनियर कन्सल्ट्यान्ट डा। ज्ञानबहादुर श्रेष्ठ र प्राविधिक जयनारायण झा सोमबार दिउँसो १ बजेको समयमा चितवन अस्पताल चौबिसकोठीमा काम गरिरहेको अवस्थामा भेटिएका थिए ।
 
अस्पताल कानुनअनुसार उनीहरुलाई निलम्बनसम्मको कारबाहीको लागि प्रमाण जुटेको छ । अस्पतालको नियमविपरीत अन्यत्र काममा भेटिएपछि स्थानीयले कारबाहीको माग गरेका छन् । अस्पतालको नियमावलीमा स्पष्ट उल्लेख भएअनुसार अस्पताल समयमा कुनै पनि कर्मचारी माथिल्लो तहका व्यक्तिलाई जानकारी नदिई अन्यत्र जान पाउँदैन ।
 
क्यान्सर अस्पताल बचाउ संघर्ष समितिका संयोजक बाबुराम अधिकारीसहितको टोलीले दुई कर्मचारीलाई नियन्त्रणमा लिई प्रहरी बोलाएर जिम्मा लगाएका थिए । उनीहरुलाई क्यान्सर अस्पताल संचालन नियमावलीको परिच्छेद १३ को नियम १२८ बमोजिम उनीहरुलाई नसिहत दिने व्यवस्था आकर्षित हुने देखिन्छ ।
 
निलम्बन गर्ने व्यवस्थाको नियम १२८ मा समय, अनुशासन र आदेश पालन नगरेमा र सन्तोषजनक काम नगरेमा नसिहत दिने व्यवस्था रहेको छ । सजायको आदेशका लागि सहायक स्तरको कर्मचारीको हकमा कार्यकारी निर्देशक, अधिकृत स्तरको कर्मचारीको हकमा अध्यक्ष र भविष्यमा सेवाको निमित्त अयोग्य ठहरिने गरी बर्खास्त गर्ने हकमा समितिको अधिकार रहने नियमावलीमा उल्लेख छ ।
 
क्यान्सर अस्पताल प्रशासनले खाजा खाने समयमा बाहिर गएको भन्दै उनीहरुको बचाउ गरिरहेका छन् । डा श्रेष्ठ चितवन अस्पतालका शेयर धनी र सञ्चालक समिति सदस्यसमेत रहेको चितवन अस्पतालका एक कर्मचारीले बताए । क्यान्सर अस्पतालका उपनिर्देशक डा देजकुमार गौतमले चिकित्सक निजी अस्पतालमा गएको बारे छानविन गरी कारबाही गरिने बताए । ‘यसअघि पनि गलत काम गर्ने एक जना चिकित्सकलाई निलम्बन गरिएको जानकारी दिँदै उनले भने, ‘नियन्त्रणमा रहेका चिकित्सक र प्राविधिकलाई स्पष्टीकरण लिई कारबाही प्रक्रिया अघि बढाउनेछौँ ।’
 
क्यान्सर अस्पतालमा कार्यरत ९० प्रतिशत डाक्टरहरु भरतपुरका विभिन्न निजी अस्पतालमा काम गर्छन् । विहान ९ बजेअघि र दिउँसो ४ः३० बजेपछि उनीहरुलाई निजी अस्पतालमा काम गर्ने सुविधा नियमावलीमा उल्लेख छ । तर अस्पतालमा हाजिर गरेर अस्पताल समयमै डाक्टर र प्राविधिकहरु निजी अस्पतालमा भेटिन थालेका छन् ।
 
निजी अस्पतालमा खुलेआम काम गरिरहेको अवस्थामा क्यान्सरका डाक्टर भेटिएको भने यो पहिलो घटना होइन । क्यान्सर अस्पताल बचाउ संघर्ष समितिका संयोजक बाबुराम अधिकारीले आफूहरुले दिएको एक हप्ताको समयमा पनि कुनै प्रगति नभएपछि स्वयम् जनता एक भएर लागिपरेको बताए ।
 
अस्पतालको कर्मचारी प्रशासन नियमावली २०६६ को परिच्छेद ८ को हाजिरी र बिदासम्बन्धी प्रावधानमा उल्लेख भएअनुसार निर्धारित समयमा अस्पतालमा नियमित रुपमा उपस्थित भएर हाजिर गर्नुपर्ने र समय समाप्त भएपछि पनि हाजिर गर्नुपर्ने हुन्छ । त्यस्तै कर्मचारीले अस्पतालमा उपस्थित भएर हाजिर जनाएपछि आफूभन्दा माथिको अधिकृतको अनुमति लिएरमात्र अस्पताल छोड्नुपर्ने हुन्छ ।
 
अस्पतालको यस नियमावलीको ९४ नम्बरको दफामा अतिरिक्त समय भत्ताको व्यवस्था उल्लेख छ । अस्पतालको कर्मचारीलाई निर्धारित समयअवधिभन्दा बढी अवधि काममा लगाइएमा त्यस्तो कर्मचारीलाई एक दिनमा पाउने तलबको दरमा प्रतिघण्टाको दरले हिसाव गरी काम गरेजति अविधिकोे भत्ता दिने व्यवस्था छ ।
 
नियमावलीको परिच्छेद १३ मा सजाय र पुनरावेदनसम्बन्धी व्यवस्था रहेको छ । उचित र पर्याप्त कारण भएमा नसिहत दिने, बढीमा तीन वर्ष तलब वृद्धि रोक्का गर्ने, बढीमा दुई पटकसम्म बढुवा रोक्का गर्ने, आर्थिक हानी नोक्सानी असुल उपर गर्ने, भविष्यमा अस्पतालको सेवाको निमित्त अयोग्य ठहरिने गरी नोकरीबाट हटाउने व्यवस्था रहेको छ ।