चितवन, काउले । विनाशकारी भूकम्प गएको एक वर्ष पूरा भएको छ । भूकम्पले सिङ्गो बस्ती चिरिएर विज्ञहरुले बस्न अयोग्य भनिएको चितवनका कतिपय पहाडी क्षेत्रका बासिन्दालाई अझै पनि सुरक्षित स्थानमा सारिएको छैन ।
चितवनको पहाडी क्षेत्र काउले, दारेचोक, लोथर, कोराक, दाहखानी, शक्तिखोरलगायतका बासिन्दालाई स्थानान्तरण नगरिँदा जोखिम मोलेरै बस्न बाध्य भएका छन् । ‘घर चर्किएको छ । भूमि चिरिएको छ । कहिले सारिन्छ पत्तो छैन ।’
जिल्लाको पहाडी क्षेत्र काउले–८ का उत्तर चेपाङले भने, ‘भूकम्प गएका बेला जिल्लाबाट आएका प्राविधिकहरुले गाँउ बस्नका लागि सुरक्षित छैन भनेका हुन् । अहिलेसम्म सारिएको छैन ।’ भूकम्प गएको एक वर्ष पूरा हुँदा पनि समस्या जस्ताको त्यस्तै छ ।
‘जग्गा बसोबास गर्न उपयुक्त छैन, तर पनि कहाँ जाने ठाउँ छैन । अहिले दिनहुँजसो आइरहेका भूकम्पका पराकम्पनले डराई–डराई बस्नु परेको छ’ उनले दुखेसो पोखे । उनले घर भत्किएका परिवारले पाउने १५ हजार पहिलो किस्ताको क्षतिपूर्ति पनि आफूहरुले नपाएको गुनासो गरे ।
सदरमुकामबाट खटिएका प्राविधिक टोलीले चितवनका पहाडी क्षेत्रको १७ वटा समुदायका ४१६ परिवारलाई स्थानान्तरण गर्नुपर्ने सुझाव दिएको थियो । तर यीमध्ये अझै पनि आधाजसोलाई स्थानान्तरण गर्न बाँकी छ ।
‘प्राविधिक टोलीले सिफारिस गरेअनुसारका बस्ती र घरधुरी अझै सार्न सकिएको छैन’ जिल्ला विपत् व्यवस्थापन समितिका सदस्यसमेत रहेका जिल्ला विकास समिति चितवनका सूचना अधिकृत बलराम लुईंटेलले भने, ‘दाहखानीको वडा नम्वर ६ बयलघारीका १२७ घरमध्ये ५० घर, शक्तिखोर गाविस भवन भएको भन्दा माथिको डाँडोमा रहेका १४ घर, काउले ८ का ४३ घरमध्ये २९ घर स्थानान्तरण हुन बाँकी छन् ।’
देशभरका भूकम्पपीडितहरु अहिले पुनर्निर्माणको पर्खाइमा छन् । चितवनका भूकम्पपीडित अझै सुरक्षित बसोबासको थलो खोज्दैछन् । चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले सरकारको स्पष्ट नीति नहुँदा र बजेट व्यवस्था नहुँदा भूकम्पपीडितलाई स्थानान्तरण गर्न नसकिएको बताए ।
भूकम्पको क्षतिको पुनर्निर्माणको लागि पुनर्निर्माण प्राधिकरण र सरकारको निर्णयहरु कुरिरहेका छौ’, उनले भने, ‘स्थानान्तरण गर्नुपर्ने बस्तीहरु पहिचान गरेका छौं । बजेटको व्यवस्था भएसँगै यसको कार्य सुरु गछौं ।’
भूकम्पबाट चितवनमा ३ हजार ७८७ घर पूर्ण रुपमा क्षति भएको जिल्ला विकास समितिसँग तथ्याङ्क छ । त्यस्तै, १२ हजार ४४ घरहरु आंशिक रुपमा क्षति भएका थिए । भूकम्पबाट चितवनमा ११ जनाको मृत्यु हुनुका साथै १८९ जना घाइते छन् । जसमा ४१६ जना घरबारविहीन छन् ।
प्रतिक्रिया