चितवन । करिव नौ हजारको ज्यान लिने गरी गएको विनाशकारी भूकम्पको आइतबार एक वर्ष पूरा भएको छ । भूकम्पको कम्पन रोकिए पनि मानिसहरुको मनमा त्रास हटेको छैन ।
भूकम्पबाट हजारौँको संख्यामा मानिसहरु घाइते पनि भए जो हालसम्म घाउ र चोट बोकेर बाँचिरहेका छन् । हजारौँ मानिसहरु घरबारविहीन भए, जो अहिलेसम्म पनि पालको छायाँमुनि छन् । दिनको चर्को घाम र रात चिसो तथा वर्षाको झरी र हिउँदको कठ्यांग्रिदो जाडोमा जीवनयापन गर्न बाध्य छन् ।
यस्तो दुःख ल्याउने वैशाख १२ लाई बिर्सन पर्छ । भरतपुर निवासी नवराज आचार्यले वैशाख १२ गतेलाई बिर्सन पर्ने बताए । ‘भूकम्प जाँदा म बाटोमा हिँडिरहेको थिएँ’ उनले भने, ‘एक्कासी जमिन हल्लिन थालेकाले एकछिन अन्यौलमा परेँ । पछि भूकम्प हो भन्ने थाहा पाएपछि सुरक्षित स्थानमा गएका थियौँ ।’
भूकम्पका कारण हजारौँको मृत्यु भएको सुन्दा निकै दुःख लागेको उनी बताउँछन् । भरतपुर–१० निवासी शंकरप्रसाद रेग्मी गतवर्षको भूकम्पलाई दुःखदायी घटनाको रुपमा सम्झन्छन् । भूकम्पले ठूलो मात्रामा जनधनको क्षति गर्दा निकै पीडा भएको उनले सुनाए । रेग्मीले भने, ‘हजारौँ नेपालीहरुलाई चुँडेर लगेको वैशाख १२ गतेलाई बिर्सौं ।’ यसले देशलाई १० वर्ष पछाडि धकेलेको छ । यो बिर्सन लायक घटना भएपनि घरीघरी बल्झिरहन्छ र पीडा दिइरहन्छ ।’
८० वर्षीय कृष्णप्रसाद अधिकारीले भूकम्पका कारण भकाभक घरहरु ढलेको देख्दा त्राहीत्राही भएको अनुभव सुनाए । ‘घरले च्यापिएर कयौ मानिसहरु मरे’ उनले भने, अब शोकलाई शक्तिमा बदलौँ ।’ भूकम्पको दुःखद घटनालाई सम्झदै रामनगरकी सुशीला चौधरीले भूकम्पपीडितहरुले उचित राहत नपाउँदा निकै दुःख लागेको बताइन् ।
‘भूकम्प प्रभावितहरुले आशा गरेअनुरुप सरकारले उनीहरुलाई सहयोग गर्न सकेन’ उनले भनिन्, ‘भूकम्प प्रभावितहरु दुःख र चोट बोकेर निराश भइ दिन बिताउन बाध्य छन् ।’ ‘हामीले अनुभव गरेको भूकम्प पहिलो र वास्तविक विपत्तिको अनुहार थियो’ विद्यार्थी प्रकाश दवाडीले भने, ‘यसलाई भुल्न सायदै सकिएला, तर भुल्दा नै वेश । सधैँ एउटा दुःखद घाउ मनमा बसाइरहन हुँदैन ।’
प्रतिक्रिया