मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

धुर्मुस सुन्तलीले सुरु गरे दोश्रो एकिकृत बस्ती

धुर्मुस सुन्तलीले सुरु गरे दोश्रो एकिकृत बस्ती


मेलम्ची (सिन्धुपाल्चोक) । हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले दोश्रो एकिकृत बस्तीको शिलान्यास गरेका छन् । गत वर्ष भूकम्प गएको ठ्याक्कै एक वर्ष पुगेको समय आइतबार ११ बजेर ५६ मिनेटमा उनीहरुले मेलम्ची–८ गिरानचौरमा दोश्रो एकिकृत बस्तीको शिल्यान्यास गरेका हुन् । 
 
बस्ती निर्माणको काम थालनीस्वरुप गिरानचौर एकिकृत बस्तीमा सामुदायिक भवनको जग शिलान्यास गरिएको हो । यस अघि विभिन्न व्यक्ति, संघसंस्थाको सहयोगमा धुर्मुस सुन्तलीले काभ्रेको डाँडागाउँमा पहिलो एकिकृत नमुना बस्ती बनाएका थिए । गिरानचौरमा रहेका ६५ परिवारका लागि करीब ६ महिना भित्र एक घर, एक धारा, एक चर्पी, एक बगैँचालगायतका संरचना निर्माण गरेर हस्तान्तरण गर्ने फाउण्डेशनको लक्ष्य रहेको कट्टेल उफ ‘धुर्मुस’ले हिमालय खबरसँग बताए ।
 
गिरानचौर एकिकृत बस्तीलाई बालमैत्री, वातावरणमैत्री र पर्यटकीय पनि बनाइने फाउण्डेशनले जनाएको छ । पुननिर्माणमा ढिलाइ भइरहेकाले सरकारलाई सघाउने उद्देश्यले नयाँ नमुना बस्ती बनाउने अभियानमा लागिएको उनले बताए । धन नभए पनि ठूलो मन लिएर बस्तीको शिल्यान्यास गरेको बताउँदै उनले सहयोगी हातहरुको खाँचो रहेको औँल्याएका छन् । 
 
गिरानचौर एकिकृत बस्ती निर्माणको काम थालनी गदै गर्दा उनले पहिलो एकिकृत बस्ती बसाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संस्थाहरुलाई पनि धन्यवाद दिएका छन् । देश विदेशबाट सहयोग गर्ने केहि प्रतिबद्धताहरु आउन थालेकोमा खुशि व्यक्त गर्दै उनले तिनै प्रतिबद्धताका कारण काम गर्ने आँट पलाएको जनाएका छन् । साढे तीन करोड अनुमानीत लागत रहेको यो बस्ती निर्माणको थालनी गर्दा अहिले फाउण्डेशनको खातामा जम्मा १ लाख ७४ हजार रुपैँया मात्र रहेको फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताएकी छिन् । 
मनदेखि आँटेको काम पुरा गर्न मनकारी मान्छे, संघसंस्थाहरु भेटिने आशामा गिरानचौर एकिकृत बस्ती बसाउन आफूहरु अघि सरेको उनको भनाई छ । सामाजिक काम गर्न पाउँदाको खुशि अन्य कुनै पनि कामबाट प्राप्त हुन नसक्ने भएकाले ६५ परिवार भूकम्प पीडितको दुख कम गर्न लागि परेको उनी बताउँछिन् । भूकम्प पिडितको घाउमा मलहम लगाउने यस अभियानमा साथ दिन उनले सबैमा अपिल गरेकी छिन् । आर्थिक रुपमा सहयोग गर्न नसक्नेहरुले श्रमदान मार्फत पनि बस्ती निर्माणमा सहयोग गर्न सकिने फाउण्डेशनले जनाएको छ । 
 
एकसय रोपनी जग्गामा एकै आकार र रंगका ६५ वटा घर बनाएर हस्तान्तरण गर्ने योजनामा फाउण्डेसन छ । घरको रंग रातो, सेतो र निलो हुनेछ ।