मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

लोकतन्त्र दिवस ओझेलमा

लोकतन्त्र दिवस ओझेलमा


चितवन । नेपालमा जनआन्दोलनको बलबाट लोकतन्त्रको स्थापना भएको शनिबार १० वर्ष पुगेको छ । जनआन्दोलनपछि तत्कालीन राजा ज्ञानेन्द्रको निरंकुश शासन व्यवस्थाको अन्त्य भएसँगै नेपालमा २३८ वर्ष लामो राजतन्त्रको अन्त्य भई लोकतन्त्रको स्थापना भएको थियो । 
लोकतन्त्रको स्थापना गर्दा नेपाली जनताले राजनीतिक परिवर्तन तथा आम जनताको जीवनस्तर उकासिने अपेक्षा गरेका थिए । हाल नेपालमा राजनीतिक परिवर्तन त केही हदसम्म भएको छ तर नेपाली जनताको जीवनस्तर भने सोचेजति उकासिन नसकेको प्रष्ट देखिन्छ ।
संविधान सभाबाट संविधान बनाउने २००७ सालदेखिको नेपाली जनताको सपना दुई पटक संविधान सभाको चुनाव गरेर संविधान जारी हुन सकेपनि लोकतन्त्रले जनताको जीवनमा परिवर्तन ल्याउन सकेको देखिएन । 
मुलुकमा निरंकुश राजतन्त्रको अन्त्य भएर जनताको छोराछारी राष्ट्रप्रमुख हुन पाउनु नै लोकतन्त्रको सबैभन्दा ठूलो उपलब्धि भएको नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले बताए । देशमा संघीय संरचनासहितको संविधान जारी भएको लोकतन्त्रको अर्को ठूलो उपलब्धि भएको उनको भनाइ छ । 
सभापति श्रेष्ठ भन्छन्, ‘देशमा संघीयतासहितको संविधान त जारी भएको छ तर जारी संविधानको कार्यान्वयन गर्नु ठूलो चुनौतिको रुपमा रहेको छ । संविधानप्रति असन्तुष्ट मधेसवादी दलहरुलाई मिलाएर लानु अर्को चुनौति छ ।’ देशमा हालसम्म पनि स्थानीय निकायको निर्वाचन हुन नसक्दा जनताले अझै पनि लोकतन्त्रको स्वाद चाख्न नपाएको भन्दै उनले चाँडो स्थानीय निकायको निर्वाचन गर्न आवश्यक भएको बताए ।
नेपाली जनताको बलिदानीपूर्ण आन्दोलनबाट प्राप्त लोकतन्त्र आफँैमा एउटा सुन्दर उपलव्धि भएको प्रभात उच्च माविका प्राचार्य होमनाथ भण्डारीको ठम्याइ छ । जनताको तवरबाट लोकतन्त्रको पूर्ण रुपमा अनुभूति गर्न नपाइए पनि लोकतन्त्र धेरै हदसम्म सफल भएको उनले बताए ।  ‘आम जनताले अपेक्षा गरेअनुरुपको लोकतन्त्रको अनुभूति गर्न भने पाइएको छैन’ प्राचार्य भण्डारीले भने, ‘जनजीवनमा प्रभाव पार्ने किसिमको कतिपय कार्यहरुको थालनीे भए पनि त्यो पर्याप्त भने छैन ।’ 
देशमा हालसम्म पनि बिहान बेलुका छाक टार्नको लागि नै समस्या रहेको भन्दै उनले जनताको बाँच्न पाउने अधिकार सुनिश्चित गर्नु लोकतान्त्रिक सरकारको प्रमुख दायित्व भएको बताए । उनले भने, ‘सबै तह र तप्काको कुरालाई समावेश गरेर सरकारले योजना ल्याउनुपर्छ । बाँच्न समेत कठिनाइ भोगिरहेका पक्षहरुलाई उनीहरुको अधिकार सुनिश्चितको लागि सरकार लाग्न आवश्यक छ ।’
अनेरास्ववियु संयोजक ध्रुव बर्तौलालाई पनि नेपाली जनताले वास्तविक रुपमा अपेक्षा गरेको शान्ति र अमनचयन लोकतन्त्रले दिन नसकेको बताए । अनेरास्ववियुका जिल्ला सदस्य समेत रहेको उनले देशमा जारी संविधानले व्याप्त बाधा अड्चनहरु भने भोलिका दिनहरुमा अन्त्य हुने आफूले विश्वास लिएको बताए । 
‘संविधान जारी भएको अबको अवस्थामा भने नेपाली जनता निर्धक्कसँग काम गरेर खान पाउँछन् भन्ने विश्वास लिएको छु’ विद्यार्थी नेता बर्तौलाले भने, ‘लोकतन्त्र र जारी संविधानले नेपाली जनतामा आत्मविश्वास जगाएको छ । यो लोकतन्त्रको सकारात्मक पक्ष हो ।’ सरकारले अबका दिनमा ठूलाठूला परिवर्तनका कुरामात्र नगरी वास्तविक रुपमा नै परिवर्तन गर्न आवश्यक रहेको उनको भनाइ छ ।